डलर साटिदिने बहानामा लुटपाट: ८ आरोपित पक्राउ

डलर साट्ने नाममा लुटपाटका घटना भएको जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। लुटपाटमा सक्रिय रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो।

उनीहरूले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको जानकारी प्रहरीमा आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको छ। 

प्रहरीले मंगलबारसम्म यस्ता गिरोहमा सक्रिय रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको उनले बताए।

पक्राउ पर्नेमा धादिङका खड्कबहादुर तामाङ, मोरङका अशोक लिम्बू, भक्तपुरका सुब्बा तामाङ, काठमाडौँको तारकेश्वरका चन्द्रबहादुर तामाङ तथा सिन्धुपाल्चोकका रामबहादुर लामा, रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ रहेका छन्।

उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ। लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।