द्रुतमार्ग निर्माणमा ढिलाइबारे प्रधानसेनापति शर्माले भने– ४ वटा रुख काट्न ९ महिना लाग्ने झन्झट छ

बुधबार बसेकाे समितिको बैठकमा प्रधानसेनापति शर्माले निर्माण कार्य ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार रहेको बताए।

काठमाडाैँ– राष्ट्रिय गौरवको आयोजना द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइबारे प्रधानसेनापति शर्माले राज्यव्यवस्था तथा सुशासन समितिलाई जवाफ दिएका छन्। 

बुधबार बसेकाे समितिको बैठकमा प्रधानसेनापति शर्माले निर्माण कार्य ढिलाइ हुनुमा सबै निकाय जिम्मेवार रहेको बताए। उनले सामान्य रुख काट्ने काममा पनि झन्झटिलो हुने र सरकारका निकायसँग समन्वय गर्न अप्ठेरो हुँदा ढिलाइ भएको बताए।

"४ वटा रुख काट्न ९ महिना लाग्ने झन्झटले कसरी समयमा काम हुन्छ। फास्ट ट्याक बना भन्ने तर नियम अधिकार नदिए कसरी हुन्छ," उनले भने, "यो ठेक्का हामीले मागेर लिएको होइन सरकारले दिएको हो, अहिले ढिलाइ हुनुमा पनि सबै जिम्मेवार छन्। जग्गाको विषय र रुख कटानी लगायतक काम त सरकारले गर्नुपर्ने हो नि। रुख काट्ने र जग्गाको विवाद सेनाले गर्ने होइन नि।"

पटकपटक म्याद थप गरिँदै आएको द्रुतमार्ग निर्माण कार्य पछिल्लो लक्ष्य अनुसार २०८३ चैतभित्र पूरा गर्ने गरी म्याद थप गरिएको छ। तर अहिलेको वर्तमान कानून नफेरेसम्म त्यो अवधिभित्र पनि काम सम्पन्न नहुने प्रधानसेनापति शर्माले बताए।

"अहिलेको वर्तमान कानून नफेरेसम्म फास्ट ट्र्याक २०८३ चैत मसान्तसम्म पनि बन्दैन हाम्रो बुझाइ त्यही हो। यस्तो तरिकाले अरु आयोजना पनि समयमा बन्दैनन। कानून बनाउने लगायत काम माननीयको हो त्यसमा तपाईंले बुझ्नुपर्छ," उनले भने।

द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। काठमाण्डूबाट निजगढसम्मको ७२.५ किलोमिटरको उक्त द्रुतमार्ग करिब १ घण्टामै पूरा गरिने बताइएको छ जसमा ठूला-ठूला पुल र सुरुङ पनि हुनेछन्। सरकारले नेपाली सेनाको व्यवस्थापनमा बनाउने भन्दै उक्त आयोजना २०७४ साउन २७ गते उसलाई हस्तान्तरण गरेको हो।