गाजा युद्धविराम वार्ताका लागि हमास नेता कायरो पुगे

इजरायल र हमासबीच जारी युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।

काठमाडौँ– हमास नेता इस्माइल हनिया गाजा युद्धविरामको नयाँ वार्ताका लागि इजिप्टको राजधानी कायरो पुगेका छन्। 

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेता बुधबार कायरो पुगेका हुन्।

उनले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको हमास समूहनिकट स्रोतले समाचार संस्था एएफपीसँग बताएको छ

यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गरेका हुन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि बन्धक बनाइएका परिवारसँग बन्धकलाई रिहा गर्ने सम्बन्धमा छलफलका लागि आफूले आफ्ना गुप्तचर प्रमुखलाई दुई पटक युरोप पठाएको बताएका छन्। 

“यो हाम्रो कर्तव्य हो, सबै बन्धकहरूको रिहाईको लागि म जिम्मेवार छु,” प्रधानमन्त्रीले गाजामा अझै पनि रहेका १२९ बन्दीहरूमध्ये केहीका आफन्तहरूसँग भने,  “तिनीहरूलाई बचाउनु सबैभन्दा ठूलो काम हो।”

इजरायली गुप्तचर संस्था मोसादका प्रमुख डेभिड बार्नेयाले सीआईएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँग युरोपमा भेटवार्ता गरेका छन्।

इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले गत नोभेम्बरमा एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो जसमा २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकहरूलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए।

गत अक्टोबर ७ मा हमासका लडाकूले गाजाबाट एक्कासि जल, स्थल र हवाई मार्गबाट इजरायली क्षेत्रमा शुरू गरेको आक्रमणमा करिब एक हजार १४० व्यक्तिको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई अपहरण गरिएको इजरायलले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले बुधबार द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको कूटनीतिक स्रोतले बताएका छन्।अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरू विरोध गरेका थिए। उनीहरूले द्वन्द्वमा फसेका नागरिकहरूलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए।

युद्ध शुरू भएदेखि हालसम्म गाजामा १८ हजार भन्दा धेरै मानिस मारिएको र ५२ हजार भन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ।