काठमाडौँ र ललितपुरका मतदाता नयाँ पार्टी तथा युवा उम्मेदवारप्रति आकर्षित हुँदा ठूला पार्टीलाई चुनौती हुने निश्चित भएको छ। समानुपातिकमा ठूला पार्टीसहित घन्टी र हलोमा पनि उल्लेख्य मत पर्ने देखिएको छ।
काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभातर्फको निर्वाचनमा काठमाडौँका धेरै मतदाताले प्रत्यक्षतर्फ नयाँ दल र उम्मेदवारलाई रोजेको जनाएका छन्। समानुपातिकमा भने कतिपयले नेपाल स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी वा राप्रपाको हलोमा मतदान गरेको बताएका छन्।
प्रत्यक्षमा नयाँ उम्मेदवार हाबी हुँदा समानुपातिकमा ठूला दलसँग स्वतन्त्र पार्टी र राप्रपाले पनि मत ल्याउने देखिएको छ।
काठमाडौँ क्षेत्र नं. ४ र ५ का मतदाताले पार्टीलाई प्राथमिकतामा नराखी युवालाई रोजेको बताए। यो क्षेत्रमा भने धेरै मतदाताले समानुपातिकतर्फ परम्परागत पार्टी (काँग्रेस, एमालेलगायत) लाई नै रोजेको बताए।

प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फ भने उनीहरूले मिश्रित मत दिएको बताएका छन्। मिश्रित मत दिनुको कारणमा उम्मेदवारहरू आफन्त, साथीभाइ या छिमेकी भएको उनीहरूले बताए। केही मतदाताले भने परम्परागत पार्टीलाई नै मत दिएको उनीहरूको भनाइ छ।
काठमाडौं क्षेत्र नं. ४ र ५ कतिपय मतदाता यसअघिका उम्मेदवारले गरेको कामप्रति सन्तुष्ट भने देखिएनन्। तर, क्षेत्र नं. ४ का धेरैले प्रतिनिधिसभातर्फ कांग्रेस महामन्त्री गगन थापालाई रोजेको बताएका थिए। नक्साल भगवती मन्दिरको मतदानस्थलमा भेटिएकी ४४ वर्षीया महिलाले देशको विकास गर्ने योजनासहित अघि बढेकाले थापालाई मत हालेको बताइन्।
थापाले गरेको विगतको कामप्रति आफू सन्तुष्ट भएको पनि उनको भनाइ थियो। गत निर्वाचनमा एमालेका उम्मेदवारलाई मत हालेको र यसपटक मत परिवर्तन गरेको उनले सुनाइन्। उनले प्रतिनिधिसभामा समानुपातिकतर्फ पनि कांग्रेसलाई नै मत दिएको बताइन्। उनले भनिन्, “हामीले निकै भरोसाका साथ पटकपटक पार्टीका पाका नेतालाई मत हाल्यौँ, तर कसैले पनि हाम्रो मर्म बुझेनन्। त्यसैले यसपटक पार्टी पुरानै भए पनि युवा उम्मेदवारलाई मत हालेँ।”

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ कै मैतीदेवी मन्दिरस्थित मतदानस्थलमा भेटिएका ६८ वर्षीय पुरूषले यसपटक प्रतिनिधिसभा सदस्यतर्फ राप्रपाका उम्मेदवारलाई मत हालेको बताए। प्रतिनिधिसभा समानुपातिक र प्रदेशसभा प्रत्यक्षमा पनि राप्रपा नै रोजेको उनको भनाइ छ।
चाबहिलको गणेशथान मतदानस्थलमा भेटिएकी २८ वर्षीया युवतीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ स्वतन्त्र युवा उम्मेदवारलाई मत दिएको खुलाइन्। “स्थानीय तहको निर्वाचनमा बालेन शाहलाई जिताउँदा उनले आत्मविश्वासका साथ काम गरेर देखाएका छन्। यो निर्वाचनमा मैले स्वतन्त्र रोज्नुको कारण पनि देशमा केही सुधार आउला कि भनेर हो”, उनले भनिन्।
काठमाडौँ निर्वाचन–५ का मतदातामा पनि उस्तै रुझान भेटियो। उक्त निर्वाचन क्षेत्रको बुढानीलकण्ठ मन्दिर नजिकै रहेको मतदानस्थलमा भेटिएकी ४२ वर्षीया महिलाले यसपटक आफूले प्रतिनिधिसभा प्रत्यक्षतर्फ मत हाल्दा पार्टीको बेवास्ता गरेको सुनाइन्। उनले भनिन्, “मैले मत हाल्दा पार्टी रोजिनँ। कुन उम्मेदवारले कस्तो काम गरेको छ र अब कस्तो काम गर्नसक्छ भनेर मूल्यांकन गरेर मत हालेको छु।” तर प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेलाई मत दिएको उनले बताइन्।
टोखा नगरपालिकास्थित धापासी हाइटका एक युवा मतदाताले भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपालाई मत दिएको बताए। उनले समानुपातिकतर्फ भने एमालेलाई मत दिएको बताए।
काठमाडौँ क्षेत्र नं. २ मा पर्ने कोटेश्वरको महादेवस्थानस्थित सरस्वती मावि केन्द्रमा मतदान गरेर निस्केका युवाको एउटा समूह चिया पसलमा गफिँदै थियो। त्यहाँ रहेका १० मध्ये दुई युवाले पहिलोपटक मतदान गरेका थिए। क्षेत्र नं. २ का मतदाता रहेका २० देखि २६ वर्ष उमेर समूहका ती युवाले यसपटक ‘नयाँ पार्टी’को चुनाव चिह्नमा मतदान गरेको बताए।
प्रत्यक्षमा मात्र नभएर समानुपातिकमा समेत नयाँ पार्टीलाई मत दिएको उनीहरूको भनाइ थियो। आफूहरूजस्तै धेरै युवाले नयाँ दल रोजेको भन्दै यसपटकको परिणाम आकलन गर्न मुस्किल पर्ने उनीहरूले बताए।
काठमाडौँ–२ का मतदान केन्द्र पुग्दा ३५ वर्षभन्दा कम उमेर समूहका अधिकांश मतदाताको मत कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा फरक पार्टीमा गएको पाइयो। यस्तो अवस्था प्रत्यक्ष र समानुपातिक दुवैतर्फ छ। यसकारण पनि यो क्षेत्रको नतिजामा युवाहरूको मत निर्णायक हुने देखिन्छ।
काठमाडौँ–२ मा सत्ता गठबन्धन दलकी माओवादी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेस मतदाताको मत कम परेको पाइयो। ४० वर्षभन्दा माथि उमेर समूहका कांग्रेस समर्थकको भोट हलो र सूर्यमा बाँडिएको छ।
३० वर्षभन्दा कम उमेर समूहले जसरी भोट नयाँ र स्वतन्त्र उम्मेदवारलाई खसालेको पाइयो, त्यसको तुलनामा ४० भन्दा माथिको उमेर समूहका मतदाता कमले मात्र मत परिवर्तन गरेको पाइएन। उनीहरूले पहिलेदेखि आस्थावान पार्टीलाई नै मत दिएको बताए।
उता काठमाडौँ–१ मा भने प्रतिस्पर्धा रोचक देखिन्छ। यस क्षेत्रबाट तीनपटकसम्म निर्वाचन जित्दै आएका कांग्रेसका प्रकाशमान सिंहलाई यसपटक जित निकाल्न मुस्किल छ। विगतमा प्रकाशमानलाई मत दिँदै आएका मतदाताहरूले मत परिवर्तन गरेको पाइयो। मत परिवर्तन गर्ने धेरैले राप्रपाका रवीन्द्र मिश्रलाई सघाएको बताए। केहीले भने मत परिवर्तत गरेको बताए पनि कसलाई दिएको भन्न चाहेनन्।
केही मतदाताले भने थोरै मतले प्रकाशमान नै विजयी हुने बताए। प्रकाशमानलाई जाने मत अन्य दलमा बाडिँदा यस क्षेत्रमा एमालेका किरण पौडेलले जित निकाल्न सक्ने केहीको अनुमान रह्यो।
काठमाडौँ क्षेत्र नं. १ र २ मा समानुपातिकतर्फ राप्रपालाई मत दिनेको संख्या पनि उल्लेख्य भेटियो।

क्षेत्र नं. ६ मा पर्ने बागबजारका मतदाता ६५ वर्षका सुदन फुस: मतदानका लागि यसपटक खासै उत्साही थिएनन्। चुनेर पठाएका उम्मेदवारले जनताको पक्षमा वकालत नगरेको र जनताको अपेक्षा पूरा नगरेको उनको गुनासो थियो।
उनले भने, “मतदाता आफैँ शिक्षित नहुँदा प्रतिनिधिसभा सांसदको काम, कर्तव्यप्रति सचेतना नहुँदा अनेक आरोप–प्रत्यारोप गरेर, अरूको लहलहैमा मतदान गर्ने कारण पनि उचित व्यक्ति छनोटमा प्रभाव परेको छ।”
बिहान ७ बजे पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुग्दा पहिलो मतदाता थिए एकजना पुरुष। तेस्रोपटक मतदान गरेका उनले यसपटक पनि पुरानै उम्मेदवारलाई मत दोहोर्याएको बताए। उनी भन्छन्, “पुरानो बाजेको पालादेखि एकै पार्टीलाई भोट दिँदै आएकालाई नै दियौँ। सोही कारण पनि भोट परिवर्तन गरिएन।”
बागबजार वडा २८ का १८ वर्षीय पुरुष मतदाताको यो पहिलो मतदान हो। उनले आफ्नो पहिलो मतदान ‘लौरो’लाई दिएको बताए। बालेनबाट प्रभावित उनले लौरो स्वतन्त्र भन्ठानेर मतदान दिएका थिए। उनी भन्छन्, “बालेनजस्तै प्रतिनिधि चाहिने ठान्दछु, यस कारण पनि मैले स्वतन्त्रलाई भोट दिएँ।”
काठमाडौँ–७ का मतदाताले समेत प्रत्यक्षतर्फ दलभन्दा व्यक्ति हेरेर मत दिएको जनाएका छन्। स्वयम्भुस्थित श्रीसीता बालविकास आधारभूत विद्यालय मतदान केन्द्रबाट मत खसालेर निस्किएका अनिष तामाङले संसदीय निर्वाचनमा यसपालि पहिलोपटक मतदान गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नै उनी मतदाता भइसकेका थिए। रोजगारको लागि विदेशमा भएकाले २०७४ सालसम्म मतदान गर्नै पाएनन्।
तामाङले प्रत्यक्षतर्फ व्यक्ति हेरेर मत दिएको बताए। समानुपातिकमा भने दलीय आधारमा मत दिए। त्यहाँ भेटिएकी ७० वर्षिया सरस्वती पन्थीले नयाँ जोशजाँगर भएका युवालाई मत दिएको बताइन्।
त्यहीँ मतदान केन्द्रमा मत दिएकी सीता खतिवडाले स्थानीय तह निर्वाचनमा बालेन शाहलाई मत दिएको र उनले राम्रो गरेकाले यो निर्वाचनमा पनि युवालाई रोजेको बताइन्। उनले पनि व्यक्ति र दल मिलाएर मत दिइन्।
२०५१ सालमा भएको मध्यावधि निर्वाचन यता हरेकपटक मत दिएका ६० वर्षीय रुद्र पाठकले परिवर्तनको झिनो आशा मात्र बोकेको बताए। उनले प्रत्यक्षमा नयाँ उम्मेदवार र समानुपातिकमा पुरानो दललाई मत दिएको बताए।
“विगतमा मत हालेकोभन्दा ‘फालेको’ जस्तो लाग्छ, यसपालि हालेको हो कि फालेको हो अहिले नै भन्न सकिदैन”, उनले भने, “मैले मत हालेको प्रतिनिधि यदि जितेका रहेछन् भने उनले कस्तो काम गर्छन् भन्ने कुराले यसलाई बताउँछ।” अनिच्छा हुँदाहुँदै पनि मत हालेको उनले प्रतिक्रिया दिए।
८८ वर्षिय रत्नबहादुर थापा आफन्तको सहयोगमा मतदान गर्न आएका थिए। परिवर्तनको आशा राखेर मत खसाल्न आएको उनको भनाइ छ। उनले पनि नयाँ र पुराना दलहरूलाई रोजेको बताए।

प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नं. ३ का धेरै मतदाताले विगतको समीक्षा गरेर मतदान गरेको बताएका छन्। ललितपुर–३ का मतदातामध्ये धेरैजसो यसपटक नयाँ अनुहारप्रति आशावादी देखिएका छन्। ललितपुर–१३ कुसुन्तीका ४७ वर्षीय सोहन ढकालले नयाँ दल र उम्मेदवारप्रति युवाहरूमा उत्साह रहेको र आफूले पनि नयाँ अनुहार रोजेको प्रतिक्रिया दिए। मतदानमा ‘राइट टु रिजेक्ट’को व्यवस्था नभएकोले नयाँलाई मतदान गरेर पुरानालाई ‘रिजेक्ट’ गर्न चाहेको उनको भनाइ थियो।
कुसुन्तीकै सुधा कार्कीलेपनि पुरानाप्रतिको भरोसा टुटेको बताइन्। उनले भनिन्, “पुरानो दल र तिनका उम्मेदवारप्रति भरोसा गुम्यो। एक पटक नयाँलाई हेरौ भन्ने लाग्यो।”
धापाखेलमा मतदान गरेका १०१ वर्षीय श्रीप्रसाद थापालाई छोरा कार्लविक्रमले बोकेरै ल्याएका थिए। प्रजातन्त्र सेनानीसमेत रहेका थापाका छोराले भने, “यसपटक बुवाले लोकतन्त्र रक्षाको लागि मतदान गर्नुभयो।”
सादोबाटो मतदान केन्द्रमा भेटिएका ५५ वर्षीय नारायण घिमिरेले महत्वकांक्षी चुनावी अजेन्डाभन्दा स्पष्ट दृष्टिकोण भएकोलाई आफूले रोजेको बताए। घिमिरेले भने, “मैले युवा उम्मेदवार र नयाँ दल रोजेँ।” सोही मतदान केन्द्रमा मत हालेर निस्किँदै गरेका राम कोइरालाले पनि आफूले नयाँ अनुहार रोजेको बताए। अघिल्लो पटक आफुले मतदान गरेको दलले चुनावमा गरेका वाचाहरू पूरा नगरेकोले यसपालि ‘फ्रेस’लाई जिताउन चाहेको उनको भनाइ थियो।
७० वर्षीया सरला प्रधान मास्केले छोरा नातीको भविष्यको लागि पनि नयाँ उम्मेदवार रोजेको बताइन्। उनले भनिन्, “छोरा वा छोरी हुर्काउन कति गाह्रो हुन्छ, तर उनीहरू हुर्केपछि देशमा काम नपाएर विदेश जानुपर्छ। यो पीडादायी अवस्था अन्त्य हुन्छ कि भनेर मैले नयाँ रोजेँ। विदेश गएका छोरा वा छोरी बक्सामा बन्द भएर फर्किनु पर्दा एउटी आमाको मनमा कस्तो चोट पर्ला?”
अग्रज पुस्ताकी मास्केलाई मात्र होइन, नयाँ पुस्ताका रसिक रिमाललाई पनि युवा विदेशिनु पर्ने विषयले पिरोलेको छ। धापाखेल मतदान केन्द्रमा पहिलोपटक मताधिकार प्रयोग गरेका उनले यस्तो अवस्थाको अन्त्य गर्न आफूले मतदान गरेको बताए।
पहिलो पटक मतदानको अनुभव गरेकी कुसुन्तीकी २० वर्षिया सम्पदा गुरागाईंले सक्षम र योग्य उम्मेदवारलाई मत दिएको बताइन्। शिक्षा, स्वास्थ्य, विकास र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिनेलाई आफूले रोजेको गुरागाईंको भनाइ थियो।
(काठमाडौँ-१ र २ मा मुकेश पोखरेल र सुनीता साखकर्मी, ४ र ५ मा दिपा दाहाल र शर्मिला खनाल, ६ मा प्रबिता श्रेष्ठ र गोविन्द खत्री, काठमाडौँ-७ र ललितपुर-३ मा रितेश त्रिपाठी र किसन पाण्डेले गरेको रिपोर्टिङ)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
