उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो।

तस्वीर: रासस

काठमाडाैँ– उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्णरूपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतकोे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिले हेटौँडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था बारेमा अध्ययन गरी उद्योग पूर्ण क्षमतामा चलाउन सक्ने/नसक्ने अवस्था बारेमा विज्ञसहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। त्यस्तै सभापति खानले नेपालमा उत्पादन हुने चिनी र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया शुरू गरी आपूर्ति व्यवस्था सहज बनाउन समेत मन्त्रालयलाई निर्देशन दिएका छन्।

उनले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानून र नीतिगत रूपमा एकरूपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएका छन्।

समितिले उखु किसानलाई भुक्तानी गर्न बाँकी रकम दिने सरकारको निर्णय स्वागत गरेको छ। त्यस्तै कञ्चनपुर र कपिलवस्तु जिल्लाका उखु किसानहरुले आर्थिक वर्ष २०७०/७१ को उखु उत्पादन प्रवर्द्धन खर्च रकम हालसम्म नपाएकाले कार्यदलले गरेको सिफारिसका आधारमा तत्काल भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिएको छ।