काठमाडौँ-६ : मतदाताको मिश्रित ‘मुड’

सरसर्ती हेर्दा यस क्षेत्रका युवा जमात विशेषतः नयाँ अनुहार तथा पार्टीप्रति आकर्षित छन् भने पार्टीगत आस्था राख्नेहरू परिवर्तन चाहँदाचाहँदै पनि भोट दिन नसकेका बताउँछन्।

काठमाडौँ- कुल ६२ हजार १०२ मतदाता रहेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा २९ हजार ९६३ जना पुरुष, ३२ हजार १३८ महिला तथा एकजना अन्य लैंगिक पहिचान भएका मतदाता रहेका छन्।

यस क्षेत्रमा महानगरपालिकाका २६, २७, २८ र ताकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नगरपालिकाका १, ८, ९, १० र ११ वडाहरू पर्छन्।

जसले काभ्रेस्थली, धर्मस्थली, जरंखु डाँडा गाउँ, नेपालटार, लोकतान्त्रिक चोक, झोर महांकाल, साँङला, फुटुङ। मनमैजु, बानियाँटार, जालपा चोक, महादेवटार हाइट लगायतका ‘सेमी अर्बन’ इलाका समेट्छ। नगर क्षेत्रतर्फ भने बागबजार, गोंगबु गणेशस्थान, रिङरोड, ठमेल, असन,  कमलादी लगायतका स्थान यस क्षेत्रममा पर्छन्।

निर्वाचनको दिन काठमाडौँ निर्वाचन क्षेत्र–६ मा हामीले यहाँको जनमत बुझ्ने प्रयासस्वरूप ६ मतदान केन्द्रका केही व्यक्तिहरूसँग कुराकानी गर्‍यौँ। यस क्षेत्रका मतदाताको मतले भित्री र बाहिरी काठमाडौँका जनताको मत मनसाय बुझ्न सकिन्छ। सरसर्ती हेर्दा यस क्षेत्रका युवा जमात विशेषतः नयाँ अनुहार तथा पार्टीप्रति आकर्षित छन् भने पार्टीगत आस्था राख्नेहरू परिवर्तन चाहँदाचाहँदै पनि भोट दिन नसकेका बताउँछन्। 

बागबजारका मतदाता ६५ वर्षका सुदन फुस: लामो समयदेखि मतदान गर्दै आएका छन्। तर, पहिलेजस्तो यसपालि उनी खासै उत्साह नदेखिएको बताउँछन्। चुनेर पठाएका उम्मेदवारले जनताको पक्षमा वकालत नगरेको समस्या, नसुनेको र जनताको अपेक्षा पूरा नगरेको उनको अनुभव छ। त्यतिमात्र नभई उनले मतदाता आफै पनि सचेत नभएको उनको भनाइ छ।  

उनले भने, “मतदाता आफै शिक्षित नहुँदा प्रतिनिधिसभा सांसदको काम, कर्तव्यप्रति सचेतना नहुँदा अनेक आरोप–प्रत्यारोप गरेर, अरूको लहलहैमा मतदान गर्ने कारण पनि उचित व्यक्ति छनोटमा प्रभाव परेको छ।”

कार्यकर्तामा पार्टीप्रतिको आस्था उस्तै
बिहान ७ बजे पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुग्दा पहिलो मतदाता थिए एकजना पुरुष। तेस्रोपटक मतदान गरेका उनले यसपटक पनि पुरानै उम्मेदवारलाई मत दोहोर्‍याएको बताए। 

उनी भन्छन्, “पुरानो बाजेको पालादेखि एकै पार्टीलाई भोट दिँदै आएकालाई नै दियौँ। सोही कारण पनि भोट परिवर्तन गरिएन।”

स्थानीय तहको निर्वाचनमा वडा सदस्यको लागि माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी एक महिलाले यसपटक गठबन्धनका उम्मेदवारलाई मतदान गरेको बताइन्।

पार्टीप्रति आस्था राख्ने टोखाकी एक वृद्धाले यसपालि पनि पुरानै दल वा भनौँ आफ्नै पार्टीलाई भोट हालेकी छन्। “पार्टीहरूले पनि राम्रो काम गरेका छन्। जुन प्रत्यक्ष देखिएको छैन”, उनी भन्छिन्, “महिला अधिकारको विषयमा पार्टीको पहल र कार्यशैली राम्रै देखिन्छ।”

मतदान गरेर खाजा खान बसेका टोखा नगरपालिका– १ का दुई जनाले सत्ता गठबन्धनलाई मतदान गरेको बताए। पार्टीको आस्था र नयाँ अनुहारप्रति विश्वास नहुँदा गठबन्धनलाई मत दिएको उनीहरूको भनाइ थियो। राम्रो उम्मेदवार भएको भए आफूहरू क्रस भोटिङ कै योजनासमेत गरेको उनीहरूले बताउँछन्।

सोही वडामा होटल व्यवसाय सञ्चालन गरी बसेका ४३ वर्षीय पुरुष पनि उनीहरू जस्तै मत राख्छन्। तर, उनले भने स्वतन्त्रलाई भोट दिँदा नेगेटिभ भोटिङले नरुचाएको पार्टीलाई भोट जाला भन्ने डरले सत्ता गठबन्धनलाई मत दिएको बताए।

नयाँ अनुहार खोज्दै युवा
टोखा– ३ की एकजना महिलाले पनि नयाँ उम्मेदवारलाई भोट दिएको बताइन्। उनकै समूहमा रहेकी २६ वर्षीय अर्की महिलाले नेतृत्वले केही राम्रो काम गरोस् र देशको समृद्धिमा टेवा पुगोस् भनेर नयाँ मान्छेलाई भोट दिएका बताइन्। 

उनी भन्छिन्, “गर्न त के गर्लान् तर, जनताले पहिलेजस्तो दुःख भने नपाउन्।”

युवामात्र नभई ज्येष्ठ नागरिक वर्गमा पनि परम्परागत पार्टीहरूप्रति वितृष्णा देखिन्थो। बानियाँटारका ६५ वर्षीय एक वृद्ध शुरूदेखिको निर्वाचनमा सहभागी छन्। 

अघिल्लोपटक कम्युनिस्ट पार्टीलाई भोट हालेका उनले सांसद मन्त्री बन्दासमेत केही काम नगरेको बताउँदै यसपटक नयाँ पार्टीलाई मत दिएको बताए। 

सञ्चारमाध्यममा परिचित एक सञ्चारकर्मी व्यक्ति बानियाँटारका मतदाता हुन्। उनले पनि परिवर्तनका लागि भोट दिएको बताइन्। पार्टीतर्फबाट उठेका नयाँ उम्मेदवार तथा स्वतन्त्रको ‘प्रोफेसनल तथा टेक्निकल’ पक्षलाई हेरेर भोट दिएको उनको भनाइ थियो।  

टोखामा ३८ वर्षीय एक पुरुष मतदाताले हालसम्म चारपटक भोट हालेको छन्। यसपटक उनले पहिलेजस्तो एमाले र कांग्रेसलाई नभई नयाँलाई दिएको बताए।

राष्ट्रिय स्वतन्त्रपट्टि युवा जमातको आकर्षण देखिएको अर्को एउटा युवा जमातले सामूहिक सल्लाहमै नयाँ उम्मेदवारलाई भोट दिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ उनीहरूको अभूतपूर्व झुकाव देखियो। नयाँ र आशलाग्दो उम्मेदवार भएको कारण स्वतन्त्र पार्टीलाई मत हालेको उनीहरूको भनाइ थियो। 

त्यस्तै, सरकारी कार्यालयको उल्झन, बाटोघाटो व्यवस्थापन र युवा रोजगारीको आशा अपेक्षासहित टोखा–३ का अर्का युवा जमातले पनि घण्टीलाई भोट हालेको बताए। पुराना पार्टीप्रति उनीहरूको पूर्ण वितृष्णा देखियो। 

बागबजार वडा २८ का १८ वर्षीय पुरुष मतदाताको यो पहिलो मतदान हो। उनले आफ्नो पहिलो मतदान ‘लौरो’लाई दिएको बताए। बालेनबाट प्रभावित उनले लौरो स्वतन्त्र भन्ठानेर मतदान दिएको बताए। उनी भन्छन्, “बालेनजस्तै प्रतिनिधि चाहिने ठान्दछु यस कारण पनि म स्वतन्त्रलाई भोट दिए।”

यता, स्वतन्त्रको नाममा राष्ट्रिय स्वतन्त्रको पार्टीलाई स्वतन्त्र भनेर भोट दिने युवा तथा वृद्धवृद्धाको जमातको पनि कमी थिएन। यसमा अधबैँसे उमेरका पुरुष भने खासै परेका छैनन्। उनीप्रतिको झुकाव खासै देखिएन। 

यद्यपि, प्रकारान्तारले यसको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलेको छ। जसले राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धन बीचको कडा प्रतिस्पर्धा हुने देखिएको छ। हामीले गरेको सर्वेक्षणमा अधिकांश मतदाताले स्वतन्त्र र सत्ता गठबन्धनको राम्रै टकराब देखिएको छ भने, अन्य मत एमाले तथा अन्य स्वतन्त्र उम्मेदवारमा बाँडिएको छ।

यसअघिको २०७४ सालको निर्वाचनमा यस क्षेत्रमा भीमसेनदास प्रधान १६ हजार ८७५ मतसहित निर्वाचित भएका थिए। दोस्रोमा माओवादीबाट उम्मेदवारी जनाएका झक्कुप्रसाद सुवेदीले १४ हजार ४८५ मत ल्याएका थिए। यसपटक यस क्षेत्रबाट १५ उम्मेदवारले आफ्नो उम्मेदवारी जनाएका छन्।