जेलमा रहेका इमरान खानले ३ क्षेत्रबाट उम्मेदवारी दिने

जेलमा रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन्। इस्लामावाद उच्च अदालतले खानको अपिलमा फैसला दिएपछि मात्रै उनले चुनाव लड्न पाउने नपाउने निश्चित हुनेछ।

पाकिस्तानमा हुन लागेको आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन्।

उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले उक्त घोषणा गरेको हो। तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका इमरान खान हाल जेलमा छन्।  

इमरान सरकारमा कार्यवाहक कानून तथा न्यायमन्त्री रहेका ब्यारिस्टर अली जफरले इमरान खानले कम्तीमा तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताए।

जेलमा रहेकाले खान चुनाव लड्न योग्य भने छैनन्। डन अखबारका अनुसार, इस्लामावाद उच्च अदालतले खानको अपिलमा आफ्नो फैसला केही दिनभित्र दिनेछ। त्यसपछि मात्रै इमरान खानको राजनीतिक भविष्यबारे अड्कलबाजी शुरू हुनेछ।

अदालतबाट सफाइ पाएमा उनले चुनाव लड्न पाउँछन्। अन्यथा उम्मेदवार बन्न पाउने छैनन्। पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन तोकिएको छ। 

जसका लागि बुधबारदेखि मनोनयन शुरू भएको छ। यो प्रक्रिया फेब्रुअरी २२ सम्म रहने छ। इमरानको पार्टीले जेलमा रहेका अरू पनि नेताहरूलाई उम्मेदवार बनाउने संकेत गरेको छ।