खाजा पाइने भएपछि कतिपय बालबालिका घरमा खाना नखाई विद्यालय जाने गरेका थिए। अहिले दिवा खाजा कार्यक्रम रोकिँदा विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ।
भरतपुर– पुसको कठ्यांग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ। न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै पढिरहेका छन् चितवनको कालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयका चेपाङ बालबालिका।
कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन्। खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका दिवा खाजासमेत रोकिँदा विद्यालय आउनै छाडेका छन्।
कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गरेकी छन्। उनको पोसाक पनि थोत्रिइसकेको छ। “चप्पल, जुत्ता लगाउने मन त छ नि,” उनले भनिन्, “बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु।”
कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहेकी छन्। उनको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ। घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहेकी छन् उनी। बाआमा काममा गएकाले भाइलाई पनि विद्यालय बोकेर आएको उनले बताइन्। उनका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन्। तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेन्च पनि एउटै छ। घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाइन्।
कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कतिको खुट्टा खाली छ। विद्यालय पोसाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन्। कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन। यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ। शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन्।
यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो। दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन्। २०७०सालदेखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन्। तर नियमित विद्यालय आउनेको संख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताए। विद्यालयमा उनी मात्रै एक जना शिक्षक हुन्। उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन्।
नान्दरमा पढ्नेका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ। जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन्।
विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले भने दिवा खाजा नरोकिएको दाबी गरे। “अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ। पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु,” उनले भने। शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताउँछन्। दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उनको भनाइ छ।
स्थानीय गोपाल चेपाङले झन्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए। उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट बालबालिका वञ्चित हुनुपरेको गुनासो गरे।
कालिका– १० वडाध्यक्ष नरजंग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको जनाउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिने बताए। उनले भने, “चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन। विद्यालयमा कमी–कमजोरी भएको भए कारबाही हुन्छ।”
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए। उनले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
