प्रधानमन्त्री कप : बागमती र एपीएफको विजयी शुरूआत

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्।

काठमाडौँ– बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेका छन्।

बिहीबार सम्पन्न उद्घाटन खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको हो। अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

बागमतीले दिएको ११८ रन पछ्याएको मधेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८९ रन बनायो।

मधेशका लागि पूजा महतोले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। उनले ४५ बलमा ४ चौका प्रहार गरिन्। मधेशले ओपनर अलिशा यादवलाई पाँचौँ ओभरको दोस्रो बलमा गुमाएको थियो। उनले १२ बलमा ४ रन मात्रै बनाइन्। उनी अस्मिना कर्मचार्यबाट बोल्ड भइन्। अर्की ओपनर अनुराधा चौधरीले २८ बलमा ३ चौकासहित २१ रन बनाइन्।

उनी १०औँ ओभरको पहिलो बलमा क्रिश्मा गुरुङबाट रन आउट भइन्। साना प्रविनले खाता खोल्न नसक्दा सरस्वती कुमारी २ रन बनाएर रन आउट भइन्।

बागमतीका लागि अस्मिना कर्माचार्यले सर्वाधिक २ विकेट लिइन्। मनिसा उपाध्ययको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो।

बागमतीका लागि यशोदा विष्टले सर्वाधिक ४७ रन बनाइन्। उनले ३९ बलमा ६ चौका प्रहार गरिन्। बागमतीकी ओपनर हेलिसा गुरुङ १२ बलमा २ चौकासहित १२ रन बनाएर तेस्रो ओभरको तेस्रो बलमै पूजाबाट एलबीडब्ल्यू आउट भएकी थिइन्।

अर्की ओपनर कन्चन श्रेष्ठ ८ रनमा आउट हुँदा तेस्रो नम्बरकी अस्मिता खरेलले खाता खोल्न सकिनन्। सोनी पाख्रिन ३ रनमा आउट हुँदा कप्तान अस्मिना कर्माचार्य ३१ बलमा ३ चौका प्रहार गर्दै ३० रनमा अविजित रहिन्।

मधेशका लागि पूजा महतोले सर्वाधिक २ विकेट लिइन्। कविता गौतमको नाममा १ विकेट रह्यो।

शुक्रबार बागमतीले दोस्रो खेल कोशी प्रदेशसँग र मधेशले विभागीय टोली एपीएफसँग खेल्ने छ।

सुदूरपश्चिमको ८८ रनको लक्ष्य
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो।

सुदूरपश्चिमका लागि कविता जैशीले मात्रै दोहोरो अंकमा रन बनाउन सकिन। उनले २७ बलमा २२ रन बनाइन्। उनले २ चौका र १ छक्का प्रहार गरिन्। सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

एपीएफका लागि सोनु खड्काले सर्वाधिक २ विकेट लिइन्। सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले १/१ विकेट लिइन्।
८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

एपीएफकी ओपनर ज्योति पाण्डेले अविजित रहँदै सर्वाधिक ४९ रन प्रहार गरिन्। उनले ४८ बलमा ९ चौका प्रहार गरिन्।

इन्दु बर्माले अविजित रहँदै ४४ बलमा ४ चौकासहित ३१ रन बनाइन्। कप्तान सीता रानामगर ४ रन बनाउँदै ईश्वरी विष्टको बलमा बिन्दु रावलबाट क्याच आउट भइन्।

शुक्रबार सुदूरपश्चिमले लुम्बिनी प्रदेशसँग खेल्ने छ। जितसँगै बागमती र एपीएफले २/२ अंक जोडेको छ।