राष्ट्रियसभा निर्वाचन : आयोगले तोक्यो मतदानस्थल

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था गरिएको जनाएको छ।

काठमाडौँ– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ।

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौँडालाई मतदानस्थल तोकेको छ।

त्यस्तै, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीलाई मतदानस्थल तोकिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बिहीबार विज्ञप्ति जारी गर्दै तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहेको जानकारी दिए।