घरेलु कामदारमाथि शोषणः यूएईमा १५३ रोजगारदातालाई ५० हजार दिर्हाम जरिबाना

ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।

यूएईको मानव संसाधन मन्त्रालय

यूएईको मानव संसाधन मन्त्रालयले घरेलु कामदारलाई शोषण गरेको आरोपमा १५३ रोजगारदातालाई कारबाही गरेको छ।

उनीहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएर श्रम शाेषण गरेको आरोपमा कारबाही गरिएको गल्फ न्युजले जनाएको छ। यसका साथै उनीहरूलाई घरेलु श्रमिक राख्न पनि प्रतिबन्ध लगाइएको छ। 

प्रतिबन्ध लगाइएका रोजगारदाताहरूले नयाँ घरेलु कामदारको अनुमति लिन पाउने छैनन्। उनीहरू विरुद्ध आवश्यक कानूनी र वित्तीय कारबाही गर्न सार्वजनिक अभियोजनमा पठाउने तयारी मन्त्रालयले गरेको छ। जसमा ५० हजार दिर्हामसम्मको जरिबाना समावेश छ।

पछिल्लो समय मन्त्रालयले पहिचानको लागि संघीय प्राधीकरणसँग मिलेर यस्ता श्रमिकको खोजी गर्ने अभियान नै चलाएको थियो। ती रोजगारदातामाथि सन् २०२२ को संघीय डिक्री कानून नम्बर ९ अनुसार कारबाही अघि बढाइएको हो। उक्त कानूनले घरेलु कामदारहरूलाई श्रम अनुमतिबिना रोजगारी दिन वा उनीहरूलाई सान्दर्भिक सर्तहरूको पालना नगरी र तिनीहरूको स्थिति व्यवस्थित नगरी अरुको लागि काम गर्न प्रतिबन्ध लगाएको छ। 

मन्त्रालयले एक विज्ञप्ति जारी गरी रोजगारदाताहरूलाई गैरकानूनी घरेलु कामदारहरू राख्न वा आफ्नो हैसियत मिलाउन नदिइ अरुको लागि काम गर्ने घरेलु कामदारहरूलाई काममा नराख्न चेतावनी दिएको छ। 

"यो कानूनको स्पष्ट उल्लंघन हो र रोजगारदाता र तिनीहरूको परिवारलाई स्वास्थ्य र सामाजिक जोखिम खडा गर्छ," मन्त्रालयले विज्ञप्तिमा भनेको छ। मन्त्रालयले कानून उल्लंघन गर्नेलाई कारबाही गर्न ढिलासुस्ती नहुने पनि जनाएको छ। 

"हामी रोजगारदाताहरूलाई इजाजतपत्र प्राप्त घरेलु कामदार भर्ती एजेन्सीहरूसँग विशेष रूपमा व्यवहार गर्न आह्वान गछौँ, जुन मन्त्रालयको आधिकारिक वेबसाइट र सामाजिक मिडिया पृष्ठहरूमा सूचीबद्ध फेला पार्न सकिन्छ," यसले व्याख्या गरेको छ। 

मन्त्रालयले घरेलु कामदार भर्ती एजेन्सीहरू सम्बन्धी कुनै गुनासो भए ६००५९०००० मा कल गरेर जानकारी गराउन पनि भनेको छ।

यूएई नेपाली श्रमिकहरूको लागि पनि प्रमुख रोजगार गन्तव्य मुलुक हो। यूएईमा धेरै नेपाली श्रमिकहरू घरेलु कामदारका रूपमा पनि कार्यरत छन्।