छबबहादुरका अनुसार आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो कम भएको छ। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।
स्याङ्जा– भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन्। १७ वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रूपमा अगाडि सञ्चालन गर्दै आएका हुन्।
“अवकाश भएर गाउँ फर्किएपछि केही व्यवसाय सञ्चालन गर्ने सोच पलायो”, विश्वकर्माले भने, “गाउँमा आएपछि दुई वर्ष केही गरिनँ र अन्तिममा आरनलाई नै व्यावसायिक रूपमा अगाडि बढाउने टुंगोमा पुगेँ।” हाल ६५ वर्ष पुगेका उनले सानै उमेरदेखि आफ्नो बुबाबाट सिकेको सीप सदुपयोग गर्दै आरनलाई नै व्यावसायिक रूपमा सञ्चालन गर्दै आएका छन्।
“बुबा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो, बुबाबाट धेरै सीप सिकेको थिएँ”, विश्वकर्माले भने, “बुबाबाट सिकेको सीपले नै आज परिवार पाल्दै आएको छु, आम्दानीको मुख्य स्रोत नै आरन नै हो ।”
आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो यसमा नभएको उनको भनाइ थियो। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।
“घन पिट्ने नै हो भने किन पढ्न पर्यो, पढेपछि त सोहीअनुसारको जागिर गर्नुपर्यो नि भन्ने बुझाइ समाजमा छ,” विश्वकर्माले भने, “आरन व्यवसाय गर्नेप्रति समाजको दृष्टिकोण, श्रमको सम्मान नहुनुजस्ता कारणले भोलिका दिनमा यो व्यवसाय हराउँदै जाने निश्चित छ।”
पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उनको भनाइ थियो।
पहिला परम्परागत रूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको छ। आरन सीप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरूको सहयोग लिने गरेको विश्वकर्माले बताए।
“पहिला जंगलमा रूख काटेर गोल बनाइन्थ्यो, काठ सित्तैमा पाइन्थ्यो,” उनले भने, “हिजोआज काठ काट्न नपाउँदा कोइलाको पनि समस्या हुँदै आएको छ। रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको गोल किनेर व्यवसाय सञ्चालन गर्दै आएको छु।”
पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले अहिले पनि पाल्पा, पर्वत र कास्कीका विभिन्न ठाउँबाट औजार तथा भाँडा बनाउन आउने गरेका विश्वकर्माले बताए। “हतियार बनाउनका लागि फलाम पिट्दादेखि धारको लेबल मिलाउन, पाइनको प्रयोगसम्म ध्यान दिनुपर्छ,” उनले भने, “पाइन पाँच प्रकारका हुन्छन्, धारलाई बलियो बनाउने पाइनले हो, पाइनको प्रयोग जो पायो उसैले लगाउनै जान्दैनन् त्यसैले औजार टिकाउ हुँदैन।”
‘छबबहादुर विक फलाम उद्योग’ नामको उद्योग दर्ता गरेर व्यवसाय गर्दै आएका विश्वकर्मा विभिन्न किसिमका भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउँछन्। न्यूनतम तीन सयदेखि अधिकतम रु सात हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुन्छ। नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा पनि मासिक रूपमा सबै खर्च कटाएर एक लाख रुपैयाँभन्दा बढी उनी बचत गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
