अन्तर्घातबाट मुक्त गर्दै कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका  रूपमा स्थापित गर्ने गरी अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले पार्टीमा अहिले अन्तर्घात गर्ने रोग लागेको बताए। “हाम्रो पार्टीलाई अन्तर्घात गर्ने रोग लागेको छ, अन्तर्घात भन्ने रोग छ त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला,” उनले भने।

उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका रूपमा स्थापित गर्न नेता/कार्यकर्तालाई आग्रह गरे। उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न कांग्रेसले काम गरिरहेको बताए।

समानुपातिक प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउनसक्ने सम्भावना निकै कम रहेको बताएका उनले आगामी दिनमा सकेसम्म कांग्रेसको एकल सरकार बन्ने गरी काम गर्नुपर्ने बताए।

त्यस्तै, पार्टीका महामन्त्री गगन थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे। “केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ। सिंगो देशको जिम्मा सिंगो देशको जिम्मा हामीले लिन्छौँ,” उनले भने।