‘सीप छ तर बजार र मूल्य छैन’

पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फूलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छन्। आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फूलमायाले बताइन्।

खेतीबाली लगाउनुका साथै फूलमायाले बाख्रा, कुखुरा पालेकी छन्। मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन्। डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन्।

“हामीले पुर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ। महिलाले डालो, सोली बुन्छौँ। पुरुषले ठूलो भकारी बुन्छन्। हामीले बुन्ने बाँसका सामग्रीचाहिँ छोरा मान्छेले बुन्दैनन्” उनले भनिन्। यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्‍याउने गरिएको उनले बताइन्।

२०० रुपैयाँ प्रतिघनमा बाँस किनेर सामग्री बनाउँदै आएको फूलमायाले जानकारी दिइन्। “ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ। बाँसको घनअनुसार सामान बनाउने हो,” उनले भनिन्।

फूलमायाका अनुसार १२० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ। “पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो। अचेल पहिलाको जस्तो किन्दैनन्,” उनले भनिन्, “यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ।”

यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फूलमायाले अनुभव सुनाइन्। “अहिले छोराहरूले रोजगारी गर्छन्। आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ। सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ,” उनले भनिन्।

यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताए। “पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन्। तुलनात्मक रूपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ,” उनले भने, “हामीले ठूला सामान बनाउँछौँ। महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ।” 

बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ। उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ। “किनेर बनाउनु पर्ने भएकाले महँगोमा बेच्दा बिक्री हुँदैन। कम मूल्यमा बेच्दा सीप र मिहिनेत अनुसारको लागत उठ्दैन”, उनले भने।

सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फूलमायाको गुनासो थियो। उनले भनिन्, “बाँसको मूल्य तिर्छौं। हामीले सीपको मूल्य पाएका छैनौँ।” यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन्। यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उनको भनाइ थियो।

“पछि काम नै नपाएर खान लाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउँछौँ। सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ,” फूलमायाले भनिन्। उनका अनुसार यहाँका करिब ५०/६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन्।

संघ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। परम्परागत तथा पुर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइँदैन। पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।

बजारमा पाँच–सात सय रुपैयाँमा बिक्री हुने सामग्री स्थानीयले बढी समय र मिहिनेत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ। किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पुर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरूको भनाइ छ।