गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर: उपचार पाउँदा दंग छन् स्थानीय

गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ। 

ढोरपाटन– गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पुगे। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा गाह्रो हुने गरेको थियो। तर, उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेका थिएनन्।

बिहीबार विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो। चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दंग छन्। यसरी चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले सोचेका थिएनन्। 

अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको र पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ। “गाउँमा मान्छेहरू बिरामी हुँदा गाडी खोजेर टाढा–टाढा उपचार गर्न जाने गर्छन्, गाउँ नजिक सानो अस्पताल छ, त्यहाँ ठूलो रोगको उपचार हुँदो रहेनछ,” पुनले भने, “डाक्टर घरमै आएर जाँच्नु भयो, औषधी पनि दिएर जानुभएको छ। फेरि केही महिनापछि आउने भन्नुभएको छ। यहाँ अहिलेसम्म यस्तो सुविधा आएको मैले थाहा पाएको छैन।”

गलकोट नगर अस्पतालका डा. राजेश पौडेलसहित स्वास्थ्यर्मीको टोलीले १५० भन्दा बढी ज्येष्ठ नागरिक र अन्य स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ। नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए। उक्त शिविर हरेक गाउँमा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेलले जानकारी दिए।

गाउँकै, स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए। गाउँमा सुविधा सम्पन्न अस्पताल नभएकाले समय–समयमा दूर दराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीको भनाइ छ।

“यस्ता सेवा नगरपालिकाले दिइराख्यो भने जनतालाई दुःख हुने थिएन, अर्को पटक पनि चिकित्सक आउने भनेका छन्,” उनले भने। थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो। त्यसैले सोही गाउँबाट र घर–घरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख पौडेलले बताए। 

वर्षको दुई पटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ। यसका लागि नगरपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ। 

“गलकोट नगरपालिकामा पाँच हजार ज्येष्ठ नागरिक हुनुहुन्छ। उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौँ,” उनले भने, “ज्येष्ठ नागरिक कोही पनि छुट्नुहुने छैन, अन्य नागरिकले पनि शिविरबाट सेवा लिनुहुने छ, ११ वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौँ।”