कोशी प्रदेशमा पर्यटन पूर्वाधार बनाउन स्विस सरकारले २ अर्ब ५० करोड सहयोग गर्ने

पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग र इलाममा चिया बगैँचा निर्माण गर्ने योजना छ।

काठमाडौँ– कोशी प्रदेशमा पर्यटन पूर्वाधार निर्माण गर्न स्विस सरकारले करिब दुई अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

स्विस सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा प्रदेश सरकारमार्फत पर्यटन पूर्वाधार निर्माण हुनेछ। परियोजना सञ्चालनका विषयमा बिहीबार शहरी विकासमन्त्री सीता गुरुङ र स्विस राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको थियो। 

भेटका क्रममा संविधान निर्माण र कार्यान्वयनका लागि भएको असल अभ्यास र स्विस सरकारले नेपालमा विशेष गरी पुल निर्माणमा गरेको योगदानबारे कुराकानी भएको थियो। 

यस परियोजनाअन्तर्गत पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग निर्माण हुने मन्त्री गुरुङका स्वकीय सचिव भगिमान गुरुङले जानकारी दिए। 

उनका अनुसार तुम्लिङटारदेखि तेह्रथुमसम्म ‘लालीगुराँस ट्रेल’ निर्माण हुनेछ।

त्यस्तै, खोटाङदेखि भोजपुर हुँदै संखुवासभासम्म ‘मुन्धुम ट्रेल’ पाँचथरको फिदिमदेखि लब्रेकुटी हुँदै इलाम पुग्ने ‘फाल्गुनन्द ट्रेल’ र इलाममा चिया बगैँचा बनाउने योजना छ।