नियमित पोसाकभन्दा फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

विद्यालयहरूले नियमित पोसाकबाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो।

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोसाक किन्न बाध्य पार्न नमिल्ने बताए।

“नियमित पोसाकमा एकरूपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ। तर त्यसबाहेक अन्य पोसाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन,” उनले भने। 

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको पाइए महानगर शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ।

साथै, त्यस्तो गरेको थाहा पाए जानकारी गराउनसमेत सूचित गरेको छ।