धनुषाको संहपुर तनावग्रस्त, प्रहरीको गोलीबाट २ जना घाइते

स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।

काठमाडौँ– धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादपश्चात् एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालय तोडफोड गरेका छन्। 

स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन्।

“प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेर आगजनी गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ,” धनुषाका एसपी मित्रबन्धु शर्माले भने, “दुई जना प्रदर्शनकारी सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।”

हंसपुरका नगरप्रमुख प्रदीपकुमार यादवका अनुसार स्थानीय दीपनारायण मण्डलको बिहीबार राति मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा आक्रोसित बनेका हुन्। 

पैसा चोरी भएको विषयमा स्थानीय दुई पक्षबीच झगडा हुँदा दीपनारायण छुट्याउन गएका थिए।  तर, ६५ वर्षीय दीपनारायण नै कुटिए।

“छुट्याउन गएका उनको टाउकोमा चोट लागेको रहेछ,” यादवले भने, “उनी प्रहरी कार्यालय पनि पुगेका थिए। पछि उपचार गराउन अस्पताल गएका रहेछन्। उपचारको क्रममा उनको मृत्यु भएको रहेछ।”