प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी र गण्डकी विजयी

मूलपानी रंगशालामा भएको खेलमा गण्डकीसँग कर्णाली प्रदेश ४४ रनले पराजित भएको छ। उता, लगातार दोस्रो जित दर्ता गरेको कोशी अंक तालिकाको शीर्षस्थानमा छ।

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेटमा कोशी र गण्डकी प्रदेश विजयी भएका छन्। 

शुक्रबार कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो। त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

कोशीको जितमा अप्सरी बेगमले सर्वाधिक ४१ रन बनाइन्। उनले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। काजोल श्रेष्ठ ५१ बलमा ३ चौका र १ छक्कासहित ४१ रनमा नटआउट रहिन्। 

बागमतीका संस्कृति फुँयाल र सोनी पाख्रिनले समान १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो।

बागमतीकी यशोदा विष्टले ५४ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाइन्। अश्मिना कर्माचार्यले २४ बलमा ३ चौकासहित २४ रन बनाइन्। 

कोशीका लागि अप्सरी बेगम र सबनम राइले समान २–२ विकेट लिए। पहिलो खेलमा बागमतीले मधेशलाई तथा कोशीले कर्णालीलाई हराएको थियो।

यस्तै, मूलपानी रंगशालामा भएको अर्को खेलमा गण्डकीसँग कर्णाली ४४ रनले पराजित भएको छ। जितका लागि १४२ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनायो। 

कर्णालीका गौरी बोहराले सर्वाधिक २६ रन बनाइन्। यमुना थारुले २१ र तिर्सना विश्वकर्माले १९ रन बनाए। गण्डकीका रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले १–१ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।

गण्डकीका अञ्जली विश्वकर्माले सर्वाधिक ५१ रन बनाइन्। ज्योत्स्निका मरासिनीले ५० रनको योगदान दिइन्। कर्णालीका यमुना थारु र अन्जु गुरुङले २–२ विकेट लिए।