जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र शहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको संख्या बढी छ।
काठमाडौँ– मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ।
जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र शहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको संख्या बढी छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञको भनाइ छ।
२०४६ सालसम्म पहाडमा बढी चाप रहेको र त्यसपछि क्रमशः तराईतर्फ चाप सरेको जनगणनाले देखाउँछ। अहिले तराईमा कूल जनसंख्याको ५४ प्रतिशत आबादी रहेको छ। यसले हिमाल र पहाड क्रमशः रित्तिँदै गएको देखाउँछ।
राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदन र विभिन्न स्रोतका आधारमा प्राकृतिक प्रकोप, बेरोजगारी, राजनीतिक अस्थिरतालगायत कारणले बसाइँ सर्नेको संख्या बढेको केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुंगीराज लामिछानेले बताए। उनका अनुसार २०५२ देखि २०६३ सालसम्ममा बसाइँसराइ कैयौँ गुणा बढेको छ।
सशस्त्र द्वन्द्वको शुरूआती वर्षमा तीन हजार ६५० मात्र रहेको आन्तरिक बसाइँसराइको संख्या सशस्त्र द्वन्द्वको अन्त्यतिर एक लाख ६५ हजार पुगेको छ। त्यसपछि पनि आन्तरिक बसाइँसराइको चित्र (ग्राफ) निरन्तर उकालो लागेको तथ्यांकले देखाउने लामिछानेले जानकारी दिए।
कुल जनसंख्याको ८० प्रतिशत प्राकृतिक प्रकोपको जोखिममा रहेकाले पनि बसाइँसराइ भएको छ। यसबाहेक हावाहुरी, आगलागी र हिमताल फुट्ने डरले थालथलो छोड्न नेपालीलाई बाध्य पार्ने गरेको छ। पहिरो आदिका कारण पुराना पानीका मुहान सुक्ने कारणले कुनैकुनै गाउँमा तीव्र रूपमा पुर्ख्यौली गाउँ छोडने प्रवृत्ति बढेको छ।
एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसको भौगोलिक चाललाई मानव बसाइँसराइ भनिन्छ। निश्चित समय अवधिमा, निश्चित भौगोलिक वा राजनीतिक एकाइबाट अर्को भौगोलिक वा राजनीतिक एकाइमा वासस्थान परिवर्तन गरेर हुने मानिसको भौगोलिक चाल नै बसाइँसराइ हो। वासस्थान परिवर्तन आन्तरिक र बाह्य प्रकारले हुने गर्दछ। हाल दैनिक करिब दुई हजार ५०० नेपाली बिदेसिने गरेका छन्।
केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक लामिछानेले राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनलाई हेर्दा हिमाल र पहाडबाट सहरी तथा तराई क्षेत्रमा, तराईका गाउँबाट नगर क्षेत्रमा बसाइँसराइ हुनेक्रम (जनसांख्यिक उतारचढाव) देखिएको बताए। आर्थिक, सामाजिक, सांस्कृतिक र रोजगारीका विषयलाई समेटेर जनसंख्या व्यवस्थापन नीतिका विषयमा अबको बहस केन्द्रित हुनुपर्ने देखिएको उनको भनाइ थियो।
“जनगणनामा बस्न योग्य पाँच लाख घर खाली रहेको र घर छाडेर गएकाहरू फर्कने सम्भावना कम रहेको देखियो,” उनले भने, “उच्च शिक्षासम्म निःशुल्क पढाउने गरी शिक्षामा लगानी वृद्धि गरी युवा जनशक्तिलाई परिचालन गरी भूगोल अनुकूलका व्यावसायिक कृषितर्फ जोड दिनु अत्यावश्यक भएको छ।”

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको प्रतिवेदनमाथि क्षेत्रगत विश्लेषण गर्ने क्रममा जनसंख्यासम्बन्धी तथ्य/तथ्यांक र असरलाई केलाइरहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख प्रा.डा. योगन्द्र गुरुङले भने, “बसाइँसराइ गर्दा धेरैजसोले आफ्ना विद्यालय पढ्ने उमेरका छोराछोरीसँगै लगे पनि बुबाआमालाई गाउँमै छोड्ने वा बुबाआमा पनि गाउँकै खुला वातावरणमा बस्न चाहने कारणले तथ्यांकमा धेरै बसाइँसराइ देखिएको हो।”
विभागका सहप्राध्यापक डा. पद्यप्रसाद खतिवडाका अनुसार कृषिमा आधुनिकीकरण हुन नसक्नु, जनसंख्याको १७ प्रतिशत अझै गरिबीमा रहनु र उच्च शिक्षाका विभिन्न समस्याका कारण स्वदेशी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण नहुनुले बसाइँसराइलाई बढाएको छ। “यसको संकेत सहारा चाहिने उमेरका अधिकांश ज्येष्ठ नागरिक थातथलोमै छन् भन्ने हो। बुढेसकालको सहारा भनिने सन्तानलाई विदेश वा आफ्नो थातथलो बाहिर पठाएका उनीहरू सामान्य बल पर्ने काम गर्न तथा बिरामी पर्दा उपचार गर्नसमेत अत्यन्त कठिनाइ बेहोर्न बाध्य छन्,” उनले भने।
बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप भएको डा. खतिवडाको भनाइ छ। मौसम परिवर्तनको सर्वाधिक जोखिममा रहेका राष्ट्रमध्ये चौथोमा पर्ने नेपालमा बाढी र पहिरो तथा भूकम्पका कारण बसाइँ सर्ने पनि उल्लेख्य संख्यामा रहेका उनले बताए। यसबाहेक आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना सामाजिक, आर्थिक, शैक्षिक तथा वित्तीय पहुँचका लागि सदरमुकाम वा राजधानीतिर सर्ने प्रवृत्तिले पनि बसाइँसराइका लागि प्रेरित गरेको खतिवडाको भनाइ थियो। “यस्तो बसाइँसराइलाई परिवारले सकारात्मकरुपमा लिने गरेका छन्,” उनले भने।
बसाइँसराइ गर्नेका परिवारबीच एउटा सम्पर्क सञ्जाल बन्ने र त्यस सञ्जालमार्फत एक गाउँका मनिस स्वदेश वा विदेशका एकै ठाउँमा बसाइँबसाइ सर्ने प्रवृत्ति पनि देखिएको डा. खतिवडाले बताए। भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्ने नेपाली मजदुर त्यस्तै सञ्चालमा आधारित समूह बनाएर बसाइँसराइ गरेको पाइएको उनको भनाइ छ। “समग्रमा विदेशबाट आउनेभन्दा नेपालबाट विदेश जाने नेपालीको संख्या बढेको छ। जनगणना गर्दा कुनै स्थानमा अनुपस्थित जनसंख्यालाई अस्थायी बसाइँसराइ मानिन्छ। आफ्नो स्थान छाडेर जानेलाई स्थायी बसाइँसराइ भएको मानिन्छ,” उनले भने।
२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। एक दशकअघि नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल ०.९२ प्रतिशतमा झरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
