एनएसएल : शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

पोखरा थन्डर्सले अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको लिग चरणका खेल टुंग्याएको छ।

काठमाडौँ– पोखरा थन्डर्सले अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल)को लिग चरण सक्काएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्लेअफ पुगिसकेको पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। 

यो एक अंकसहित ८ खेलमा ४ जित, ३ बराबरी र १ हार बेहोरेको पोखराले १५ अंक बनायो। पोखरा लिग चरणमा साबिक विजेता काठमाडौँ रेजर्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो। झापा (१–१) र ललितपुर सिटी एफसी (गोलरहित)सँग भने अंक बाँडेको थियो।

पोखराविरुद्ध धनगढीले शुरूआती अग्रता लिएको थियो। धनगढीका ओलावाले अफिजले दिएको पासलाई सदुपयोग गर्दै मिलन राईले खेलको ४२औँ मिनेटमा गोल गरेका थिए।

तर, दोस्रो हाफको अन्तिम समयमा पोखरा खेलमा फर्कियो। मनोज राईले आयुष घलानलाई फउल गरेपछि पोखराले फ्रिकिक प्राप्त गरेको थियो। सुरजज्यू ठकुरीले प्रहार गरेको उक्त फ्रिकिक बललाई घानाका स्ट्राइकर मोसेस ग्याबा ट्वुमले धनगढीका गोलरक्षक मोहम्मद थाहाले पञ्च गर्न नसकेको बललाई गोलमा परिणत गरे।

अंक बाँडे पनि धनगढीका शीर्ष चारमा रहेर प्लेअफ पुगेको छ। धनगढीको ८ खेलमा ३ जित, ४ बराबरी र १ हारसहित १३ अंक बनायो। साँझ ५ बजे हुने झापा एफसी र एफसी चितवनबीचको दिनको दोस्रो खेलले धनगढीको स्थान तय हुनेछ। प्लेअफ पुग्न उक्त खेलमा झापालाई जित आवश्यक छ। चितवन भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

झापाले ७ खेलबाट १० अंक जोडेको छ। एक खेल खेल्न बाँकी रहेको ललितपुरको  १० र काठमाडौँको ९ अंक छ।