आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।
काठमाडौँ– पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ।
आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।
“खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा नपाउने र आजकाल धेरै दम्पती पहिला व्यक्तित्व विकास गर्ने चिन्ताले उमेरमै सन्तान जन्माउनेबारे सोच्दैनन्,” प्रजनन तथा हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तवले भनिन्, “बढी तातोमा काम गर्ने, ढिला विवाह गर्ने, आवश्यक पौष्टिक आहार पर्याप्त मात्रामा नखाने तर ‘जंकफुड’ खानेजस्ता कारणले पनि दम्पती निःसन्तान हुँदै गएका छन्।”
कोभिड–१९ को महामारी, युद्ध या विविध कारणले विश्वव्यापी रूपमा भइरहेको आर्थिक मन्दीका कारण पनि मानिसलाई जीविका चलाउन गाह्रो हुँदै गएको छ। यस्तो अवस्थामा जीविकाका अतिरिक्त आफ्नो व्यक्तित्व विकास पनि मानिसको आधारभूत आवश्यकता जस्तो हुँदै गएको छ। यो पनि मानिसमा निःसन्तान बन्दै जाने एक कारण देखिएको छ। निःसन्तान केन्द्रमार्फत निःसन्तानका लागि उपचार सेवा दिइरहेकी डा. श्रीवास्तवका अनुसार महिला र पुरुष दुवैमा बराबर निःसन्तानको समस्या देखिएको छ।
“नेपालमा निःसन्तान पुरुषका बारेमा कम अध्ययन गरिएको छ, तसर्थ महिलामा बढी समस्या भएको जस्तो लाग्छ। महिलाको समस्यामध्ये करिब ४० प्रतिशतमा डिम्बाशयको फोकेरोग अथवा पोलिसिस्टिक रोगका कारण निःसन्तानको समस्याले पीडित हुन्छन् भन्ने कुरा हामीले केही अनुसन्धानमार्फत पुष्टिसमेत गरेका छौँ,” उनले थपिन्, “त्यसो त शुरूमा महिला मात्रै आउँथे, पुरुष कम आउँथे र महिलामा बढी समस्या छ जस्तो लाग्थ्यो। तर अहिले आएर दम्पतीसँगै आएका केसमा ५०/५० प्रतिशत नै महिला र पुरुषमा निःसन्तान हुने समस्या देखिन थालेको छ।”
विश्वको तथ्यांक हेर्दा सन्तान प्राप्तिका लागि टेस्टुट्युब बेबीमार्फत बच्चा जन्माउने दम्पती पनि पछिल्लो समयमा बढेका छन्, तर यो उपचार निःसन्तानसम्बन्धी जाँचमार्फत प्रारम्भिक उपचार पद्धतिबाट पूर्ण तवरले असफल पुष्टि भएपछि मात्र अपनाउनुपर्छ।
निःसन्तान केन्द्रकी सञ्चालक डा. श्रीवास्तवका अनुसार उक्त केन्द्रको उपचार सेवाबाट मात्र आठ हजारभन्दा बढी बच्चा जन्मिएका छन्। यसबाट दम्पतीलाई सन्तान सुख मिलेको छ। तीमध्ये करिब १० प्रतिशत मात्र टेस्टट्युब बेबी छन्। उक्त केन्द्रले विसं २०५९ देखि नै सन्तान नभएका दम्पतीलाई आवश्यक उपचार सेवा प्रदान गर्दै यस प्रक्रियाबाट सन्तान जन्माउन सघाउने काम गर्दै आएको छ।
तर आमजनताले उक्त प्रक्रियाबाट पनि सन्तान प्राप्त गर्न सक्दैनन्। किनकि उक्त प्रक्रियाबाट सन्तान जन्माउन महँगो पर्छ। एउटा सन्तान जन्माउन करिब तीनदेखि चार लाख रुपैयाँसम्म खर्च लाग्ने भएकाले सबै नेपाली नागरिक त्यो प्रविधिबाट बच्चा जन्माउन पहुँचमा पुग्न सक्दैनन्।
“टेस्टट्युब बेबीका लागि हर्मनल सुई महँगो पर्छ, तर ती सुईहरू भारतमा सस्तो पर्छ। त्यस किसिमको उपचार गराउँदा पनि सन्तान प्राप्तिको सफलता धेरै छैन। ती हर्मनल सुईहरू किन्न नपर्दा करिब एक/डेढ लाखसम्ममा बच्चा जन्माउन सकिन्छ,” उनले भनिन्, “जर्मनी, स्विट्जरल्यान्ड बाट ल्याइएको हर्मोन सुईको प्रयोग गर्दा एउटा बच्चा उत्पादन गर्न धेरै महँगो पर्छ।”
अनि त्यति खर्च गरेपछि पनि टेस्टट्युब बेबी प्रक्रियाबाट एक महिनामा नै सफल हुने दम्पती करिब ३० देखि ५० प्रतिशत मात्र हुन्छन्। यसरी असफल भएकालाई पुनः उपचार शुरू गर्नुपर्छ र फेरि त्यति नै खर्च लाग्ने गर्दछ।
नेपाल सरकारले निःसन्तानका लागि हर्मनल सुईहरू परिवार नियोजनका साधनजस्तै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेमा त्यसको खर्च करिब डेढदेखि दुई लाख रुपैयाँमा उक्त प्रविधिबाट बच्चा जन्माउन सकिने उनको भनाइ छ।
“निःसन्तान हुनुमा पुरुष वा महिलामा के कमजोरी वा रोग छ भनेर अध्ययन गरिसकेपछि पुरुषहरूको वीर्यमा शुक्रकीट शून्य भएको अवस्थामा दाताबाट लिनुपर्छ। त्यसैगरी, ३५ वर्षमाथिका महिलाको पनि डिम्ब उत्पादन कम भएकालाई दाताबाट डिम्बदान लिनुपर्ने हुन्छ,” डा. श्रीवास्तवले भनिन्।
उनका अनुसार करिअर राम्रो बनाउने सोचले अहिले महिलाले बच्चा ढिला जन्माउने र कतिपयको राम्रोसँग डिम्ब नबढ्ने अवस्था देखिएको छ। खाना गुणस्तरीय नखाने, पौष्टिक आहार नखानेहरूको अण्डा राम्रो हुँदैन। महिलाको अण्डा वा पुरुषको शुक्रकीट लिनुपर्दा दाताको स्वास्थ्य पूर्ण रूपमा परीक्षण गरेर स्वस्थ भएमा मात्र लिइन्छ। यस उपचार पद्धतिमा भ्रूण विकास गराउन मानव निर्मित शारीरिक रस जस्ता तरल पदार्थको पनि प्रयोग हुन्छ।
“डिम्ब र शुक्रकीट राख्ने, कतिपय सामानहरू पुनः प्रयोग गर्न नमिल्ने खालका हुन्छन्। ती प्याकेटमा आउँछन्, कति प्राकृतिक रूपमा नै निःसन्तान केन्द्रसम्म आइपुगेका हुन्छन् भने कतिमा टाढाबाट आउँदा तापक्रमको असर पनि परेको थाहा पाउन सकिँदैन। फलस्वरूप परिणाम सकारात्मक आउँदैन। यस्ता कुराहरू अनुभवले सिकाउँछ। यस्ता कैयौँ सफलताका कथा छन्। आफ्नो केन्द्रमार्फत जन्मिएका छोराछोरी भेट्न आउँदा खुशी लाग्छ,” उनले भनिन्।
उक्त केन्द्र सञ्चालन गरेपछि धेरै दम्पतीले विभिन्न उपचार पद्धतिबाट विशेष गरी हर्माेनल प्रक्रियाबाट सन्तान जन्माएका उनले बताइन्। “तीन दशकदेखि निःसन्तानको उपचार गर्दै आएको छु, शुरूमा उपकरणहरू कम थियो, केहीलाई उपचारका लागि भारतमा पनि पठाएँ,” डा. श्रीवास्तवले थपिन्। उनले भारतको कलकत्ता, दिल्ली, मुम्बईबाट प्रारम्भिक र विशेष तालिम बेल्जियम, बेलायत, अमेरिका, स्पेन, यूएईबाट लिएको बताइन्।
महँगो भए पनि टेस्टट्युब बेबी प्रविधि प्रारम्भ गर्नु त्यस समयको बाध्यता रहेको उनले बताइन्। उनी भन्छिन्, “शुरूमा पैसा तिरेर मेसिन ल्यायौँ। थोरै मात्र सफल भएपछि शुरूमा त मेरो हौसला नै मर्यो। उपचार र तालिमलाई भने निरन्तर राखियो।”
उक्त उपचार पद्धतिबाट बच्चा जन्माउन धैर्यता र खर्च चाहिने उनी बनाउँछिन्। अहिले कतिपय यस्ता केन्द्र खोलेर ‘हामी छोरा नै दिन्छौँ’ भनेर गर्ने गरिएका प्रचार राम्रो लागेको छैन। उनका अनुसार यस्ता सेवा केन्द्रले उपचार दिने हो। छोरा वा छोरी प्रलोभन दिन नमिल्ने उनको भनाइ छ।
“छोरा वा छोरी छान्न भन्ने हुँदैन किनकि यसो गरेमा हाम्रोजस्तो देशमा छोरी जन्माउन खोज्ने दम्पती कमै भेटिन्छन्,” उनले थपिन्, “डाक्टरले आचारसंहिताभित्र रहेर अध्ययन गरेर मात्र काम गर्नुपर्छ।”
प्रकृतिले नै स्वस्थ जोडीबाट २५ प्रतिशत स्वस्थ सन्तान उत्पादन गर्ने क्षमता दिएको छ भने अन्य प्रविधि शतप्रतिशत सफल नहुने उनको भनाइ छ। आफूहरूले उक्त प्रविधिबाट अधिकतम ६० प्रतिशतसम्म सफलता दिन सकेको डा. श्रीवास्तवको दाबी छ। सरकारले सन्तान रोक्न विभिन्न खालका औषधिको व्यवस्था गरेजस्तै निःसन्तानका लागि पनि औषधिको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो भन्ने उनलाई लागेको छ।
डा. श्रीवास्तवले आफूले गरेका काममा आधारित रहेर ‘सन्तान सुख’ नामक पुस्तक पनि लेखेकी छन्। उक्त पुस्तकमा ६० वटा विभिन्न ‘केस’ समेटिएको छ। उनका यससम्बन्धी कार्यपत्र र लेखहरू पनि प्रकाशित भएका छन्। यसैगरी, निःसन्तान उपचारमा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरूका लागि पनि एउटा पुस्तक लेखेर प्रकाशित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
