राखेपको प्रस्तावमा प्राधिकरणले जारी गर्‍यो खेलकुद बीमालेख

बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइ खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने राखेप सदस्यसचिव टंकलाल घिसिङको भनाइ छ।

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा खेलकुद बीमालेख जारी भएको छ। नेपाली खेलकुदको संस्थागत विकास शुरू भएको करिब आठ दशक पुग्न लाग्दा पहिलोपटक खेलकुद बीमालेख जारी भएको हो।

विश्वभर धेरै राष्ट्रमा खेलाडीहरू मनोबल बढाउने मद्दत गर्ने खेलकुद बीमालेख भए पनि नेपालमा भने यसको शुरूआत हुन सकेको थिएन। त्यस कारण कैयौँ खेलाडी घाइते भएपछि आफ्नो खेल करियर बिट मार्न बाध्य हुँदै आएका घटना पनि नेपाली खेलकुदमा छन्। राखेप सदस्यसचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते पदभार समालेकै दिन खेलकुद बीमालेखको शुरूआत गर्ने घोषणा गरेका थिए।

आफ्नै योजनाअनुरूप राखेपको प्रस्ताव नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको हो। शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै राखेपले खेलकुद बीमालेख जारी भएको जनाएको हो। यससँगै राखेपले नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय शुरू भएको राखेप सदस्यसचिव टंकलाल घिसिङले विश्वास व्यक्त गरेका छन्।

खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरणका लागि बीमासम्बन्ध नीति आवश्यक हुन्छ। खेलाडी तथा खेलकर्मीहरूको पूर्णरूपमा सुरक्षा गर्ने उद्देश्यका साथ खेलकुद बीमालेख जारी भएको छ। राखेप सदस्यसचिव घिसिङले बीमालेखले खेलाडीहरूमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने धारणा राखेका छन्।

पछिल्लो समय केही ठूला प्रतियोगिताहरूमा खेलाडीहरूको बीमा गर्न शुरू भए पनि बीमालेखसम्बन्धी स्पष्ट नीतिको अभाव थियो। बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइ खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने घिसिङको भनाइ छ। त्यसका लागि सबै संघलाई यसको कार्यान्वयन अघि बढ्न निर्देशन दिने उनले बताए।

बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छ। पहिलो न्यून जोखिममा टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीबिल्डिङ, स्क्वास खेल समावेश छन्।

त्यस्तै, सामान्य जोखिममा ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती साइक्लिङ खेल रहेका छन्।

तेस्रो जोखिमयुक्त खेलमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्‍याफ्टिङ एन्ड क्यानोइ, क्वालाइविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एन्ड अल्पाइन स्पोर्ट्स वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल छन्।

साथै दुर्घटनाका कारण तत्काल वा १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्था पनि गरिएको छ। राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि बीमालेखअन्तर्गत समावेश हुने राखेप सदस्यसचिव घिसिङको भनाइ छ। राखेपले घटना भएको ३० दिनभित्र जानकारी गराउने पर्ने बीमालेखमा उल्लेख रहेको जनाएको छ।