कवाडी संकलकका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सहज

विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको छ। कतिपय अवस्थामा अपमान पनि सहनुपर्ने संकलनर्ता बताउँछन्। 

काठमाडौँ– काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्किन्छ। यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ। फोहोर व्यवस्थापनमा स्थानीय तह र फोहोर संकलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) संकलन गर्ने व्यक्तिको योगदान छ। हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबेँसी र ककनी गरी २३ नगरपालिकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार २०० देखि एक हजार ५०० टनसम्म फोहोर संकलन हुने गरेको छ। दैनिक करिब २०० सवारी साधनमा राखेर फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ। संकलित फोहोरबाट पुनः प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुनः प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर संकलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ। त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगन्ज, हेटौँडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरेका छन्।  

नेपाल पुनः प्रयोगीय वस्तु व्यवसायी संघका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुनः प्रयोगीय वस्तु दैनिक ३५ गाडी संकलन हुने गरेको जानकारी दिए। संकलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग ३५० टन पुनः प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ छ। “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चा पदार्थका रूपमा आपूर्ति गर्दै आएका छौँ। यस्तो कच्चापदार्थ पहिला सिंगापुर वा अन्य विदेशबाट ल्याउनुपर्थ्यो तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भने।

संघका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुनः प्रयोगीय वस्तु संकलनकर्ता  सात हजार छन्। उनीहरू दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन्। यसरी किनेर बेच्दा मासिक २० हजारदेखि ३० हजार रुपैयाँ आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी संकलनकर्ता अजय यादवले बताए। उनले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने गुनासो गरे। उपत्यकामा एक हजार ७०० पुनः प्रयोगीय वस्तु संकलन स्थल (कवाडीखाना) रहेका छन्। ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ।

विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको अध्यक्ष पाठकले गुनासो गरे। “यो पेसा हेपिएको अवस्थामा छ। कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ,” उनी भन्छन्, “सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्‍यौँ। तर कुनै सुनुवाइ भएको छैन।”

२०३८ सालमा यो पेसामा आबद्ध भएका पाठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गरे। काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन शुरू गरेको छ। यद्यपि संघको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्युत गरी पुनः प्रयोग गर्न शुरू भएको छ। 

फोहोरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ। त्यसमध्ये पुनः प्रयोग नहुने फोहोरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन्। भान्साजन्य र अन्य फोहोर सड्ने फोहोर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहोर हुन्। त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन्। पुनः प्रयोगीय वस्तु संकलनकर्ताले यी वस्तुमात्र संकलन गर्ने गर्छन्।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहोर व्यवस्थापन

यसैगरी, फोहोर संकलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहोरमैला व्यवस्थापन संघ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहोर संकलन गर्ने ५८ निजी कम्पनी छन्। ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, संकलक र व्यवस्थापक कार्यरत रहेको संघका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिए। उपत्यकाको फोहोरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरले संकलन गर्ने गरेको उनले बताए। काठमाडौँ महानगरले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहोर संकलन गर्ने गर्छ। बाँकी वडाको फोहोर निजी संस्थाबाट संकलन तथा व्यवस्थापन हुँदै आएको छ। 

“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्याक्टरबाट फोहोर संकलन गरेर आ–आफ्नो संकलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुनः प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन्। बिग्रेको खाद्यान्न बंगुरलगायत जनावरका लागि दानाका रूपमा पनि प्रयोग हुन्छ। यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उनले भने, “तर जुन कम्पनीको फोहोर छुट्याउने केन्द्र हुँदैन, ती कम्पनीले फोहोर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुनः प्रयोग हुने वस्तु छुट्याइन्छ।”

फोहोर लैजाने कम्पनीले प्रत्येक गाडीको ४०० रुपैयाँ प्रवेश शुल्क तिर्ने गरेका छन्। एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहोरबाट छुट्याइने पुनः प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक २० लाखदेखि ३० लाख आम्दानी हुने गरेको छ। यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्काेतिर फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताए। यसले फोहोर ढुवानीको खर्च पनि बचत हुने गरेको छ। त्यस्ता कम्पनीले फोहोरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए। तर घरायसीका लागि न्यूनतम मासिक ४०० रुपैयाँ छ। उपत्यकामा करिब चार लाख घर रहेको अनुमान छ।

काठमाडौँ महानगर वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहोरमध्ये ६० देखि ७० प्रतिशत कुहिने हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन्। दैनिक लैजाने २०० गाडीका फोहोरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वतः रूपमा पुनः प्रयोग हुने वस्तु छुट्याउने गरेका छन्। त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुनः प्रयोग हुने वस्तु फिर्ता हुने गरेको छ। कवाडी सामग्री संकलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वतः रूपमा पुनः प्रयोग गर्ने वस्तु संकलन गर्दा फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उनको भनाइ छ। 

“यस पेसालाई सरकारले नियमन गर्नका लागि कहीँ न कहीँ औपचारिक रूपमा ल्याउन आवश्यक छ,” प्रमुख श्रेष्ठले भने। महानगरमा सरसफाइ तथा उद्यान सहायकका रूपमा ३२ वडामा ३९७, विभागमा १०८, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शंखपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बञ्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल ५७७ जना कार्यरत छन्।