सर्लाहीका चिनी मिलले थाले उखु ‘क्रसिङ’

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको छ। तर, मूल्य निर्धारणप्रति उखु उत्पादक किसान भने असहमत छन्।

फाइल तस्वीर।

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन्। तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ शुरू गरेका हुन्।

हरिवन नगरपालिका–११ स्थित इन्दुशंकर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखुको क्रसिङ शुरू गरेका छन्। अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ थालेको छैन। 

इन्दुशंकरले मंसिर २६ देखि चालु यामको उखु क्रसिङ थालेको थियो। तर, उखु उत्पादक किसानले आन्दोलन थालेपछि केही समय क्रसिङ रोकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

उखु उत्पादक किसानले राज्यले चालु यामका लागि उखुको मूल्य निर्धारण नगरेको र गत वर्ष उखु बिक्री गरेका उखु उत्पादक किसानलाई दिनुपर्ने अनुदानबापतको ५२ करोड रुपैयाँ हालसम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका थिए। 

उखु उत्पादक किसानको सहमतिमा चालु यामको क्रसिङ शुरू गरिएको प्रबन्धक रजकको भनाइ छ। उनका अनुसार उद्योगले चालु याममा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। उद्योगले गत वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। 

यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ। सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ निर्धारण गरेको छ।

मूल्य निर्धारणप्रति उखु उत्पादक किसान असहमत रहेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।