शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराएरै छाड्छु: प्रधानमन्त्री

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तार गर्न सरकारले ९९ रोपनी जग्गा दिने विषयलाई टुंग्याउने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजि प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले केन्द्रलाई जग्गा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्ने दाबी गरे। 

“मेरो दोस्रो कार्यकालमा नै जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो। गत वर्ष पनि मैले यसबारे प्रतिबद्धता व्यक्त गरिसकेको छु,” उनले भने, “तसर्थ, मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ।” 

प्रधानमन्त्री दाहालले मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको भन्दै अंग प्रत्यारोपणबारे सबैले सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए। उनले शरिरका मुटु, कलेजो, आँखा जस्ता महत्त्वपूर्ण अंग दान गर्न डराउन नहुने र सबैलाई अंग प्रत्यारोपणको राष्ट्रिय अभियानमा साथ दिन आग्रह गरे। 

“मरेपछि  खरानी भएर जाने अंग दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्,” उनले भने, “त्यसैले अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।”  

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालले सम्मेलन आयोजना गरेका हुन्।