फ्रान्सले किन रोक्यो भारतीय बोकेको चार्टर विमान?

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। यस विषयमा शनिबार बिहानसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

मानव तस्करीको आशंकामा फ्रान्सले भारतको चार्टर उडान रोकेर अनुसन्धान थालेको छ। फ्रान्सले निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको चार्टर उडान रोकेर यात्राको अवस्था र उद्देश्यबारे अनुसन्धान शुरू गरेको हो।

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। तर, यस विषयमा अहिलेसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

पेरिस सरकारी वकिलको कार्यालयले संगठित अपराधसँग सम्बन्धित एक विशेषज्ञ इकाई, सीमा प्रहरी र उड्डयनसँग सम्बन्धित एजेन्सीले अनुसन्धान गरिरहेको बताएको छ।

सोधपुछका लागि दुई जनालाई पक्राउ गरिएको छ। यो विमान ए–३४० रोमानियाको चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सको हो।

यूएईबाट उडेको उक्त विमान बिहीबार दिउँसो बेट्री विमानस्थलमा अवतरण गरेको थियो। यो विमानस्थल पेरिसबाट १५० किलोमिटर पूर्वमा अवस्थित छ र प्रायः कम लागतको एयरलाइन्सका लागि प्रयोग गरिन्छ। प्रहरीले विमानस्थल घेराबन्दी गरेको छ।