‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करी गरेको अभियोगमा १ जना पक्राउ

भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित मोरङका विनोद कार्कीलाई काठमाडौँको बल्खुबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ– नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।

मोरङको पथरी शनिश्चरे–७ घर भई ललितपुरको इमाडोल बस्दै आएका ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार कार्कीले ‘सिटी टुर्स एन्ड ट्राभल्स’ सञ्चालन गरेर विभिन्न प्रलोभनमा पार्दै भिजिट भिसामा विदेश पठाउने गरेका थिए।

भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित २४६ थान नक्कली राहदानी, कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

“उक्त नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएको छ,” एसपी रेग्मीले भने। 

त्यसमा संलग्न कार्कीलाई काठमाडौँको बल्खुबाट पक्राउ गरी थप कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको उनले बताए।