अम्रिसोको मूल्य प्रतिकिलो १५०, किसान उत्साहित

धरानस्थित कृषिउपज बजारका अनुसार प्रतिकिलो अम्रिसो १५० रुपैयाँमा किनबेच भइरहेको छ। गत वर्ष यही समयमा १०० रुपैयाँ सम्ममा बिक्री भएको थियो।

धरान– गत वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि किसान खुशी भएका छन्। धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसो १५० रुपैयाँमा किनबेच भइरहेको छ।

गत वर्ष यही समयमा प्रतिकिलो १०० रुपैयाँ सम्ममा बिक्री भएको थियो। कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार अम्रिसोको मूल्य बढ्दो क्रममा छ। पूर्वी पहाडी भेगका कृषक नगदेबाली छाडेर व्यावसायिक अम्रिसो खेतीमा आकर्षित भएको उनले बताए। अम्रिसोको कुचोबाट अन्य बालीभन्दा बढी आम्दानी हुन थालेपछि किसानले यसको खेती बढाएका हुन्। 

वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले खेती गर्न थालेको धनकुटाका कृषक दिनेश राईले बताए। उनको बगानमा एक सिजनमा ३० क्विन्टलसम्म अम्रिसो उत्पादन हुन्छ। ओरालो र भिरालो ठाउँमा अम्रिसो खेतीका लागि राम्रो मानिन्छ। 

भारतीय व्यवसायी आफैँ आएर लाने गरेकाले बजारीकरणको समस्या नभएको उनले बताए। धरानमा वर्षमा ४५ देखि ५० मेट्रिक टनसम्म अम्रिसो बिक्री हुने गरेको छ। भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको व्यवस्थापक भट्टराईको भनाइ छ। 

कुनै सयम बिक्री नभएर चौपायको आहारा बन्ने गरेको थियो। अहिले धनकुटासहित, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लाका किसानले मकै, कोदो उत्पादन हुने ठाउँमा अम्रिसो लगाएका छन्। 

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले मूल्य घट्ने गरेको छ। पुरानो उत्पादनलाई व्यापारीले कम मूल्य मात्र दिन्छन्। “जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ। अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ,” राईले भने, “भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका छन्।”

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुशी छन्। मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मक रूपमा बढी मूल्य पाएपछि किसान चाँडै बेच्न हतारिएका छन्। रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले अम्रिसोखेती सजिलो रहेको व्यवस्थापक भट्टराईले बताए। 

उनका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत व्यापार भारत हो। अम्रिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका थिए। 

“अम्रिसोलाई प्रसोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ। व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ,” व्यवस्थापक भट्टराईले भने।