युवाहरूका सपना पूरा हुने अवसर नेपालमै छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूका सपना पूरा हुने अवसर नेपालमै सिर्जना हुँदै गएको बताएका छन्।

शनिबार नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा अर्थमन्त्री डा. महतले देशले विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्दै सपना पूरा गर्न विदेशमै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउनुपर्ने बताए। 

कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई रोक्न युवाहरूले नै सचेतना अभियान चलाउनुपर्ने आवश्यक औँल्याएका उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने भनाइ राखे।

“ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भयो भने मात्रै अवसर हुन्छ। त्यहाँ धेरै अवसर हुँदैन। अझै धेरै काम गर्न बाँकी भएको हुनाले धेरै अवसरहरू नेपालमा नै छ,” उनले भने।

उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए। उनले नेपालभित्रै केही गर्न सकिन्छ भन्ने हिसाबमा युवाहरूले सूक्ष्म दृष्टिले हेर्न आवश्यक रहेको भनाइ राखे। उनले स्टार्टअप उद्योगका लागि सरकारले बजेटमार्फत सहुलियत दिएको उल्लेख गरे।

नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरू सो क्षेत्रतर्फ लाग्दा राम्रो हुने उनको सुझाव छ। उनले नेपालको आईटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए। सरकारले पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने उनको भनाइ छ।

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्रमा पछिल्लो समय उल्लेख्य सुधार आएको दाबी गरे। उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब सरकार जम्मा भएको पुँजीलाई चलायमान बनाउने दिशातर्फ केन्द्रित हुने बताए।

“अर्थतन्त्र सुधार हुँदै गएको छ। जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक छ। सरकारले मौद्रिक र आर्थिक नीतिमा प्राथमिकताको आधार खुला गर्दै गएको छ,” उनले भने।