प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौं : विश्वप्रकाश शर्मा

सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी केन्द्र सरकारले कानून नल्याएर सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी केन्द्र सरकारले कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौँमा कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारहरूले अघि सारेका मागहरू पूरा गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग उठेको सुनाए। कांग्रेस महासमिति बैठकसम्म प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउने गरी कानून नल्याए सो बैठकबाट निर्णय गरेर पार्टीले सिंहदरबार घेर्ने उनको भनाइ थियो। पार्टीले आगामी फागुनमा महासमिति बैठक गर्ने निर्णय गरेको छ। 

“आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकारसम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ,” उनले भने।

प्रदेश सरकारहरूले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि केन्द्र सरकारले प्रदेशहरूलाई अधिकारसम्पन्न गराउन चासो नदेखाएको उनको भनाइ थियो। उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे।

महामन्त्री शर्माले रुस—युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीहरूलाई पुर्‍याउनेहरूलाई कारबाही गर्नुपर्ने बताए। उनले युद्धमा मृत्यु नेपालीहरूको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे।

उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबन्डा नभई योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए।