लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई ‘उज्यालो नेपालको नयाँ युगमा प्रवेश’ गराएको दाबी गरेका प्रधानमन्त्री दाहालले त्यसको राम्रोसँग प्रचार हुन नसकेको गुनासो गरे।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारका पालामा भएका कामहरूको राम्रोसँग प्रचार हुन नसकेको गुनासो गरेका हुन्।
शनिबार जनतासँग माओवादी विशेष रूपान्तरणअन्तर्गत काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसको प्रचार गर्न नसकेको बताएका हुन्। लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गरेका उनले त्यसको राम्रोसँग प्रचार हुन नसकेको गुनासो गरे।
“दोस्रो प्रधानमन्त्रीत्वकालमा मैले जनार्दनलाई ऊर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो। उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो,” उनले भने, “तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ। अरूले नगरेका काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएनौँ।”
प्रधानमन्त्री दाहालले अबको डेढ वर्षभित्र एउटा पनि घर विद्युत् नपुगेको नरहने जिकिर गरे। उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको बताए। “अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहनेछैन। डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ। यो लक्ष्यसहित हामी अघि बढेका छौँ,” उनले भने।
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले भूमिसम्बन्धी, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधान गर्न चाँडै नयाँ ऐन जारी गर्न लागेको जनाए। नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले विद्यमान ऐनमा भएका केही त्रुटिका कारणले यो समस्या बल्झिरहेको र अहिले आफूले समस्याको गाँठो फुकाउन लागेको बताए। उनले नयाँ ऐन आएसँगै लालपुर्जा वितरणको नयाँ अभियान शुरू हुने उद्घोष गरे। उनले माओवादी केन्द्रलाई देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमानदारीपूर्वक लड्ने पार्टीका रूपमा चित्रित गरे। सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
