संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो तागतले भ्याएसम्म र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्।

विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्। नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलामा उनले आफ्नो तागतले भ्याएसम्म र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने दृढता प्रकट गरेका हुन्।

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।उनले नेपालमा कृषिक्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न आग्रह गरे। सरकारले निजीक्षेत्रसँग साझेदारी गरेमा मात्र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सम्भव हुने उनको भनाइ थियो। 

विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर लाग्नुपर्ने उनको सुझाव छ। उनले यसको नेतृत्व उद्योगी व्यापारीहरूले नै लिनुपर्ने आवश्यकता औँल्याए।

“कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजीक्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानूनहरूको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानून परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ,” उनले भने।

सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति र निजीक्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत बनेको, विप्रेषणको वृद्धिदर राम्रो हुनुका साथै शोधनान्तर स्थिति बचतमा रहेको बताउँदै उनले भने, “विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अप्ठ्यारो अवस्थामा लिएका कदमहरूलाई सरकारले बिस्तारै सामान्य गराउँदै लैजानुपर्छ भन्ने लाग्दछ।”

कोशी प्रदेशमा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, वराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किरात मन्दिरलगायतलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिए राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उनको सुझाव थियो।