छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु, २ पुरुषको शव फेला

काठमाडौँ, भक्तपुर, चितवन, बारा लगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ– छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना लगायतका घटनामा ११ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बेलुका र शनिबार काठमाडौँ, भक्तपुर, चितवन, बारालगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको हो।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँको सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको कालिका नगरपालिका–१ लङकालाइनमा भरतपुरबाट खालेसिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवनकै भरतपुर महानगरपालिका–५ विकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–५ बिकास चोक बस्ने २३ वर्षीया अमृता मिश्रको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको बलवा नगरपालिका–११ रातो खोल पुलमा प्रदेश २–०२–००४ प ३५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका–११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा नम्बर नखुलेको सवारसाधनको ठक्करबाट अन्दाजी ६० वर्षीय पहिचान नखुलेका पुरुषको शुक्रबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका–२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका–१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्यूरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल, वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको शुक्रबार राति मृत्यु भएको छ। बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमस अस्पताल, सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यानको बाग्चौर नगरपालिका–३ स्यालागैरास्थित सडकमा रा.१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको एक्स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा एक्स्काभेटरका सह–चालक दाङ गढुवा गाउँपालिका–५ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ। एक्स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा अन्दाजी ५० वर्षीय र मकवानपुरको बकैया गाउँपालिका–२ सरस्वती सामुदायिक वन वतासेडाँडास्थित जंगलमा अन्दाजी ६५ वर्षीय पहिचान नखुलेका पुरुषको शव फेला परेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।