भौगोलिक रूपमा विकट रहेको इलामको रोङ गाउँपालिकाले श्रव्य माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाएको छ।
इलामको रोङ गाउँपालिका–५ का ७९ वर्षीय नीरबहादुर सुनुवार एउटा समारोहमै नाचिरहेका थिए। वृद्धावस्थामा अर्को खुशी थपिएको थियो। उनी पुलकित थिए। यसको कारण थियो, गाउँपालिकाका तर्फबाट प्राप्त गरेको रेडियो।
सुनुवारले लामो समयपछि रेडियो सुन्न पाएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए। सूचना तथा देशविदेशका खबर सुन्न हतारिएका सुनुवार रेडियो प्राप्त गरेलगत्तै घरतिर जाने तरखरमा देखिन्थे। १० वर्षदेखि पुरानो रेडियो बिग्रिएर दुनियाँबाट बेखबर थिए। अब रेडियोमा आउने विभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने उनको भनाइ थियो।
रोङ–५ कै हरिमाया लबारको खुशी पनि सुनुवारको भन्दा कम थिएन। आँखा कमजोर भएकी ८७ वर्षीया उनले रेडियो नसुनेको वर्षौं भएको थियो। घरमा टेलिभिजन भए पनि उनले आँखामा समस्या उत्पन्न भएदेखि हेर्न नपाएको बताइन्। आफ्नी बुहारीलाई लिएर कार्यक्रमस्थल आएकी उनले एफएममा पुराना गीत सुन्न रुचि भएको बताइन्।
सुनुवार र लबारजस्तै कार्यक्रमस्थलमा भेला भएका एक सयभन्दा बढी वृद्धवृद्धाहरू सञ्चार उपकरण रेडियो पाएपछि खुशी देखिन्थे। सूचना तथा सञ्चारमा सम्पूर्ण नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले रेडियो वितरण गर्न शुरू गरेको जनाएको छ।
वडा न ५ मा शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङवोले जानकारी दिए। उनले गाउँपालिकाभरिका सम्पूर्ण ज्येष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए।
वितरणका लागि गाउँपालिकाले एक हजार १०० रेडियो खरिद गरेको उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन्। उनले ६ वटै वडाका ज्येष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरू गरेको बताइन्।
गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई ’चेतना वितरण’ भनेको छ। भौगोलिक रूपमा विकट रहेको सो गाउँपालिकामा श्रव्य माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाइएको छ।
“युवाहरूले इन्टरनेटको माध्यमबाट सूचना लगायतका विभिन्न जानकारी पाउने गरेका छन्,” अध्यक्ष स्याङवोले भने, “इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सूचनामा पहुँच पुगोस् भनेर हामीले रेडियो वितरण गरेका हौँ, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
