चितवनको तोक्दानमा सामुदायिक घरबास

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकलाई लक्षित गरी  तोक्दाङमा सामुदायिक घरबास सञ्चालन गरिएको छ। 

मुग्लिन– चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा ल्याइएको हो।

घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गरे। यसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उनको विश्वास छ। उनले घरबासमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिए।

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकका लागि लक्ष्य गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ भन्छन्, “फिस्लिङबाट इच्छाकामना उपर्दाङगढी हुँदै सौराहा जान सकिन्छ भन्ने प्रचार–प्रसार गर्न र गाउँमा बास बस्न चाहने पर्यटकका लागि सहज होस् भनेर सामुदायिक घरबास सञ्चालनमा ल्याएका हौँ।”

दुईकोठे भवनमा सञ्चालन गरिएको घरबासमा एक पटकमा १० जना बस्न सक्छन्। गाउँपालिकाको १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको एक लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापकोएक लाखको लागतमा भवन निर्माण गरिएको हो। साथै गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ। भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरेका हुन्। 

जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलक्षित घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए।