मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गरेको आरोपमा २ जना पक्राउ

मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा स्थानीय झापु शाही र धनबहादुर भट्ट पक्राउ परेका छन्।

प्रतिकात्मक तस्वीर

काठमाडौँ– मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ परेका छन्। 

जातीय भेदभाव गरेको आरोपमा स्थानीय झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।

शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन्। उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ। 

त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन्। उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ। 

“उहाँहरूको नाममा किटानी जाहेरी परेको छ। त्यही आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएका छौँ,” उनले भने, “आज अदालतमा हाजिर गराएपछि पक्रिया अघि बढ्छ।” दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन्। 

वैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख वीरेन्द्र मल्लले यौन दुर्व्यवहारसमेत गरेको उनको आरोप छ। तर उनले त्यसविरुद्ध कानूनी लडाइँ लड्ने साहससमेत गरेकी थिइनन्।

पुस २ मा अभियन्ता खगेन्द्र सुनारले उनको बारेमा सामाजिक सञ्जालमा लेखेपछि सो घटना बाहिर आएको थियो।