प्रधानमन्त्री कप: एपीएफ र कोशीको लगातार तेस्रो जित

तीन खेलमा तीन जित हासिल गरेको एपीएफ र कोशीको समान ६ अंक रहेको छ। नेटरनरेटमा भने एपीएफ अगाडी छ।

काठमाडौँ– विभागीय टोली एपीएफ र कोशीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेका छन्।

आइतबार भएको खेलमा एपीएफले लुम्बिनी र कोशीले मधेशलाई पराजित गरेका हुन्। मूलपानी मैदानमा एपीएफले मधेशलाई ९० रनले पराजित गर्‍यो। १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन मात्रै बनाउन सक्यो। लुम्बिनी ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेन्।

एपीएफकी इन्दु बर्माले ३ विकेट लिइन्। बिन्दु बूढाले २ विकेट लिँदा रेखा रावल, करुना भण्डारी र सीता रानामगरको नाममा १–१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो।

एपीएफकी इन्दु बर्माले सर्वाधिक ७० रन बनाइन्। उनी अविजित रहिन्। ओपनर ममता चौधरीले ५९ रन बनाउँदा कप्तान सीता रानामगर ९ र राजमत्ति ऐरी २ रनमा आउट भइन्।

रोमा थापा ३ रनमा अविजित रहिन्। लुम्बिनीकी सर्मिला रोक्का र सरस्वती पुनले १–१ विकेट लिइन्।

उता, त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा कोशीले मधेशलाई ६० रनले पराजित गर्‍यो। कोशीले दिएको १३० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो।

मधेशकी साना प्रविणले २७ र आरती महतोले १८ रन बनाइन्। अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। कोशीकी सबनम राई र अलिसा खडियाले २–२ विकेट लिइन्।

संगिता राई र रुविना क्षेत्री बेलबासेको नाममा १–१ विकेट रह्यो। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनायो।

कोशीकी ओपनर तथा कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ५७ रन बनाइन्।

अप्सरा बेगमले ३९ रन बनाउँदा सबनम राई १६ रनमा अविजित रहिन्। मधेशकी मिना महतोले २ विकेट लिइन्। पूजा महतो र सरस्वती कुमारीको नाममा १–१ विकेट रह्यो।

३ खेलमा ३ जित हासिल गरेको एपीएफ र कोशीको समान ६ अंक रहेको छ। नेटरनरेटमा भने एपीएफ अगाडी छ। उसको ३.५३३ नेटरनरेट रहेको छ। कोशीको भने नेटरनरेट २.८१९ छ।