विश्वबहादुरले एउटै बगानमा फलाए ७५ लाखको सुन्तला

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष एउटै बगानबाट ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्। 

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गरेका छन्।

उनले व्यवसायी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला बिक्री गरेका हुन्। कृषक अधिकारीले भने, “ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु। यो वर्ष ७५ लाख रुपैयाँमा सुन्तला बिक्री गरेको हुँ।”

गाउँको भिरालो जमिन सदुपयोग गरी २०५२ सालदेखि व्यावसायिक रूपले सुन्तलाखेती शुरू गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन्। 

उक्त सुन्तला बगानमा एक हजार ३०० भन्दा बढी सुन्तलाका बोट छन्। “गत वर्ष राम्रो उत्पादन भएन। कहिलेकाहीँ समस्या आउँछ। म आफैँ पनि बिरामी भएँ,” उनले भने, “यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।”

सुन्तला खेतीमा वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको छ। “यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च पनि बढी भयो,” उनले भने, “फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ।” 

उमाचोक सुन्तला उत्पादनका लागि उर्वर ठाउँ हो। सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर पढाएका छन्। सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुन्छ। 

बगानसम्म नै सडक जोडिएकाले बिक्रीका लागि सहज छ। सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या छैन। सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए। भने, “म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु। यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्। बजारको समस्या छैन।”

जिल्लामा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो। अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ। त्यस वर्ष नौ हजार ६४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

आठ हजार ५७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन्। पोखरा, नारायणगढलगायत ठाउँमा पनि सुन्तला बिक्री हुने गरेको छ। 

उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ।