टीआरसी विधेयक टुंग्याउन शीर्ष नेताहरूबीच सोमबार पनि छलफल हुने

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।

काठमाडौँ– टीआरसी भनेर चिनिने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरूका बीचमा छलफल भएको हो। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी थिए।

छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताहरूबीच टीआरसी विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको हो। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुंग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अगाडि बढेको बताए। 

समितिमा, उपसमिति र बाहिर दलहरूका बीचमा अहिलेसम्म भएका छलफलबारे तीन नेताहरूलाई उनले जानकारी गराएका थिए। तीन शीर्ष नेताबीच सोमबार दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिए। 

“मूलतः अहिले प्रतिनिधिसभाको समितिमा विचाराधीन रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा नै केन्द्रित भएर छलफल भएको छ। त्यसमा केही थप छलफल गर्नुपर्ने ३/४ वटा जुन विषयहरू देखिएका छन्, त्यो विषयहरूमा पनि थोरै छलफल गर्ने र चाँडोभन्दा चाँडो टुंग्याएर शान्तिप्रक्रियाको बाँकी रहेको यो कामलाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने भावका साथ र त्यही बुझाइका साथ बैठक भएको छ। भोलि फेरि ४ः३० मा बस्ने गरेर आज हामी उठेका छौँ,” उनले भने।