केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सांसदसँग एकैपटक छलफल गरिने

कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरूसँग एकैपटक छलफल गर्ने भएको छ।

कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरूसँग एकैपटक छलफल गर्ने भएको छ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आइतबार राखिएको थियो। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची थियो। सोहीअनुरूप संशोधनकर्ता केही सांसदहरूलाई बोलाइएको पनि थियो। बैठकमा उपस्थित सांसदहरूले सबै संशोधनकर्ताको सामूहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको छ।

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरूको आग्रहबमोजिम आगामी बैठक पुस १६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको जानकारी गराइन्। उनले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सबै सांसदहरूलाई बोलाइने बताइन्। 

सभापति सुवेदीका अनुसार सोमबार बैठकमा ६२ जना संशोधनकर्ताहरूमध्ये ५६ जनालाई खबर गरिएको भए पनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिबद्धता जनाएअनुरूप बैठक राखिएको थियो। आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरूलाई फोनसँगै मेसेज गर्ने उनको भनाइ छ।

बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सबै संशोधनकर्तालाई एकैपटक बोलाएर संशोधन प्रस्तावमाथि छलफल गर्नुपर्ने बताए। उनले आफूहरू सबै संशोधनकर्ताहरूको कुरा सुन्न चाहेको उल्लेख गरे। सबैलाई एकैपटक नबोलाएर प्रतिनिधिसभा नियमावलीको अधिकार कुण्ठित हुने उनको भनाइ थियो।

एमालेकै सांसद प्रतीक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरूलाई सामूहिक रूपमा बोलाउनुपर्ने धारणा राखिन्।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्यप्रतिको डकैती भएको टिप्पणी गरे। केही संशोधनकर्ताहरूलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटि भएको भन्दै उनले सबैलाई एकै पटक बोलाएर प्रक्रियागत रूपमा बैठक राख्नुपर्ने भनाइ राखे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरूले समेत संशोधन हालेका भन्दै सत्तापक्षीय सांसदहरू कुन कित्तामा उभिन्छन् आफूहरूले बैठकमै हेर्न चाहेको बताए। उनले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरूको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरूको धारणा जायज रहेको बताए। बैठक आगामी दिनमा संशोधनकर्ताहरूलाई संयुक्त रूपमा बोलाएर गर्नुपर्ने उनको पनि भनाइ थियो।

जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरूलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राखिन्। संशोधनकर्ताहरू एकै पटक बसेर छलफल गर्नुपर्ने उनको पनि धारणा रह्यो।