दुर्लभ दुइटा पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुई सन्तान्

दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ। त्यसैमाथि दुवै पाठेघरमा गर्भ बस्नुलाई झनै दुर्लभ मानिन्छ।

दुर्लभ दुई वटा पाठेघर भएकी एक अमेरिकी महिलाले दुई दिनमा दुई बच्चा जन्माएकी छन्। अल्बामाकी केल्सी हेचरले गत मंगलबार राति पहिलो छोरीलाई जन्म दिइन् भने त्यसको १० घण्टापछि बुधबार बिहान अर्को छोरीलाई। ३२ वर्षीया हेचरले युनिभर्सिटी अफ अलाबामा बर्मिंघम अस्पताल (यूएबी)मा दुवै सन्तानलाई जन्म दिएकी हुन्।

यसक्रममा उनले निकै प्रसव पीडा खेप्नुपरेको थियो। त्यसैले दोस्रो सन्तानलाई जन्माउन शल्यक्रिया गर्नुपरेको बर्मिंघम अस्पतालको प्रसूति तथा स्त्री रोग विज्ञान विभागकी एमडी तथा हेचरको प्रसूति विशेषज्ञ श्वेता पटेलले बताइन्।

उक्त प्रसूतिलाई व्यवस्थापन गरेका प्राध्यापक रिचर्ड डेभिसले प्रत्येक शिशुले ‘हुर्कन र बढ्न थप ठाउँ’ पाएको बताएका छन्। प्रत्येक शिशुका लागि पाठेघर भएकाले त्यो साधारण किसिमको जुम्ल्याहको जन्म भन्दा फरक रहेको उनले बताए।

हेचरले पनि आफूले अद्भूत सन्तान जन्माएको भन्दै सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छन्।

"मैले यस्तो गर्भाधानको कल्पना त गरेको थिइनँ तर दुवै छोरीलाई सुरक्षित रूपमा यो धर्तीमा ल्याउने लक्ष थियो, जुन यूएबीको सहयोगले पूरा भयो" उनले भनिन्।

हेचर १७ वर्षकी हुँदा उनले आफूसँग दुई वटा पाठेघर भएको थाहा पाएकी थिइन्। यस्तो १० लाख मान्छेमा एक जनामा मात्र हुने बताइन्छ। उनका दुइटै पाठेघरले अलगअलग काम गर्छन्। यसपटक संयोगले उनको दुवै पाठेघरमा गर्भ बस्न गयो। यसअघि उनका ६, ४ र २ वर्षका तीन सन्तान छन्। सबै सामान्य प्रसूतिबाटै जन्मेका हुन्। 

यो गर्भाअवस्थामा भने शुरूमा त डाक्टरले उनलाई पेटमा एउटा मात्र बच्चा छ भनेका थिए। तर उनले आफूसँग दुईवटा पाठेघर भएको र कतै दुवैमा पो गर्भ छ कि भनेर राम्रोसँग जाँच्न भनेकी थिइन्। त्यसपछि डाक्टरले पनि दुईवटा शिशु भएको थाहा पाए। दुवै शिशु फरक फरक पाठेघरमा भएको कुराले हेचर छक्क परिन् साथै खुशी पनि भएकी थिइन्।

दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ। त्यसैमाथि दुवै पाठेघरमा गर्भ बस्नुलाई झनै दुर्लभ मानिन्छ। पाँच करोड महिलामा एक जनामा मात्र यस्तो हुने एमडी पटेलको भनाइ छ। 

यसअघि सन् २०१९ मा बांग्लादेशकी एकजना चिकित्सकले बीबीसीलाई आफ्नो अर्को पाठेघरमा रहेको बच्चालाई समय नपुग्दै जन्माएकी एक महिलाले त्यसको लगभग महिना दिनपछि जुम्ल्याहा जन्माएको बताएकी थिइन्।

डाक्टर पटेल र डेभिस दुवै जना यसरी जन्मेका बच्चालाई जुम्ल्याह हुन् कि हाेइनन् भन्ने प्रश्नको उत्तर दिन गाह्रो भएको बताउँछन्। जुम्ल्याहको परिभाषाले एउटा पाठेघरमा दुई वटा भ्रुण हुनुलाई परिभाषित गर्ने उनीहरूको भनाइ छ। "यो हो पनि होइन पनि," उनीहरू भन्छन्। तर, यसरी अलग अलग पाठेघरमा जन्मिनेलाई कसरी परिभाषित गर्ने भन्नेमा दुवै डाक्टर अन्योलमा छन्।