एमाले सांसद कोइरीको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका हवल्दार थमन विकको हत्या अभियोगबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन सभामुख देवराज घिमिरेको निर्देशनअनुसार संसद् सचिवालयले फुकुवा गरेको छ।

काठमाडौँ– सशस्त्र प्रहरीका हवल्दार थमन विकको हत्या अभियोगमा सफाइ पाएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन सभामुख देवराज घिमिरेले फुकुवा गरेका छन्। संसद् सचिवालयले आइतबार सभामुखको निर्देशनअनुसार कोइरीको निलम्बन फुकुवा भएको जनाएको हो।

कोइरी फरार अभियुक्त रहेको भन्दै प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोगका लागि संसद् सचिवालयलाई पत्र पठाएपछि सभामुखको निर्णयअनुसार उनी गत वैशाख १९ गतेदेखि सांसद पदबाट निलम्बित थिए।

उनीविरुद्धको मुद्दामा मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए। त्यसपछि उनको निलम्बन सभामुखको निर्देशन अनुसार फुकुवा गरिएको संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ।

कोइरीसहितका व्यक्तिमाथि महोत्तरीमा सशस्त्र प्रहरीका हवल्दार विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको थियो। सशस्त्र प्रहरी बल महोत्तरी, जलेश्वरमा कार्यरत विक मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर उनको हत्या भएको थियो।

०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान तथा आगो लगाएको मुद्दा दर्ता भएको थियो। कोइरी तारेख गुजारी फरार थिए।

महोत्तरीका जिल्ला न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा कोइरी र पवन कापरलाई सफाइ र लोसपाका प्रदेश सांसद अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिनिधिसभाको निर्वाचनमा कोइरी माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै महोत्तरी–१ बाट निर्वाचित भएका थिए।