खेतीयोग्य जमिन कंक्रिटले भरिँदै गएका छन्। प्रविधिको दुरुपयोग, समाजसँगको कम घुलमिल र देखासिकीले हामीलाई आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमै गरिब बनाउँदै लगेको छ।
आर्थिक सूचकांकमा संसारका १९५ देशमध्ये १६५औँ रहेको नेपाल गरिब कि धनी भनेर बहस गर्नपर्दैन। विश्व बैंक, एशियाली विकास बैंक तथा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय सहयोग संस्थाहरूबाट लिइँदै आएको वैदेशिक ऋण र अनुदानले पनि त्यही बुझाउँछ। त्यसमाथि, अनेकन् अन्तर्राष्ट्रिय संघ–संस्थाले वार्षिक रूपमा प्रकाशित गर्ने प्रतिवेदनहरूले त नेपाललाई गरिब राष्ट्रको रूपमा मात्रै सूचीकृत गरेका छैनन्, गरिबीमा झनै फस्दै गएकोतर्फ संकेत गरेका छन्।
विश्व बैंकको पछिल्लो तथ्यांकले नेपाललाई दक्षिण एशियाको सबैभन्दा गरिब मुलुकको रूपमा इंगित गरेको छ। गरिबी निवारण गर्ने भन्दै सञ्चालनमा रहेका अनेकन् एनजीओ र आईएनजीओले दातासामु पेस गर्ने गलत रिपोर्ट पनि नेपाललाई सधैँ गरिब देखाइराख्ने कारकमध्ये एक हो। माथिका तमाम तथ्यले नेपाललाई गरिब राष्ट्रका रूपमा परिचित गराउँदा–गराउँदै पनि नेपाल साँच्चै गरिब छ वा गरिब देखाइएको छ अथवा गरिब बनाइएको छ भन्ने विषयमा यहाँनिर केही चर्चा गर्ने दुस्साहस गरौँ।
केही समयअघि जागिरे छुट्टी मिलाएर मलेसिया हुँदै सिंगापुर घुम्न गएका केही साथीको समूहलाई मलेसियाको इमिग्रेसनमा नेपाली पासपोर्ट देख्नेबित्तिकै इमिग्रेसन अफिसरले "तिम्रो देशको मान्छे हाम्रोमा 'अनस्किल्ड लेबर' या सुरक्षाको मात्र काम गर्छन्, कसरी तिमीहरू हाम्रो देश घुम्न आउन सक्छौ?" भन्दै अनावश्यक केरकार गरेको अनुभाव सुन्दा मन अमिलो भयो।
यो एउटा उदाहरण मात्र हो, श्रमको सम्मान हुने भनिएका युरोप, अमेरिकालगायत विकसित देश पुगेका नेपालीको आफ्नै अनुभव र पीडा छन्। देश गरिब हुनुको पीडा कामदारको रूपमा विदेशी भूमिमा पुग्नेको मात्रै छैन, घुमफिर गर्न जानेको पनि छ। यस्ता प्रसंगसँग जोड्दै, राजा महाराजाका पुराना भिडियो क्लिप शेयर गर्दै राजतन्त्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको ठूलो इज्जत हुने गरेका चर्चा पनि सुनिन्छ।
देशको कुल बजेटको ठूलो हिस्सा आफ्नो पारिवारिक व्यवस्थापनमा खर्चेको र विदेशस्थित ठूला विश्वविद्यालयमा सहजै पहुँच पुगेको राजपरिवारको थोरबहुत अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुनु र त्यसकै कारण केही सम्मान पाउनु सिंगो देशकै इज्जत वा सम्मान हो या होइन, अर्को बहसको विषय हो।
इतिहासको कुन कालखण्डमा नेपाल धनी थियो र कुन समययता नेपाल गरिब राष्ट्रको रूपमा दर्ज भयो भन्ने यसै यकिन गर्न सकिने अवस्था छैन। विगतमा सीमित इच्छा, आवश्यकता र भौतिक स्रोतसाधनको समेत सीमित प्रकार र मात्रा उपलब्ध भएको समयमा स्पष्ट भाषामा भन्ने हो भने नेपालमा पुँजीवादी बजारको यो हदसम्मको विकास नभइसकेको अवस्थामा नेपालको आर्थिक अवस्था र त्यसको चर्चा गौण थियो भने राजनीतिक अवस्था र त्यसको चर्चा प्रधान थियो।
नेपाल एकीकरणदेखि अंग्रेजसँगको युद्ध जितेसम्मका वीरताका गाथा आज पनि हामी स्कुले बालबालिकालाई पढाउँदै आएका छौँ। अर्कोतर्फ, नेपाल कृषिप्रधान रहेको, जलस्रोतमा विश्वकै दोस्रो धनी रहेको र विश्वकै अग्लो सगरमाथासहित आठ अग्ला हिमाल नेपालमा रहेको बखान हामीले गर्ने गरेका छौँ, जबकि जलस्रोतमा विश्वको दोस्रो धनी रहेको तथ्य सत्य होइन। तर पनि धेरै प्राकृतिक स्रोतसाधन भएर पनि हामी किन गरिब?
धेरै पहिले एक अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा नेपाल आएका एक इजरायली कूटनीतिज्ञले नेपालमा भोकमरी समस्यासमेत छ भन्ने सुनेपछि छक्क पर्दै सोधेका थिए, "यति हरियाली भएको देशमा पनि भोकमरी हुन्छ?" विविध प्राकृतिक कठिनाइ र अभावबीच प्रकृतिलाई नै चुनौती दिने नवीनतम प्राविधिक विकासका कारण नेपालभन्दा निक्कै सानो भूगोलमा फैलिएको इजरायल आफ्नो देशको माग पूर्ति गरेर अन्य थुप्रै देशमा कृषिजन्य उत्पादन निर्यात गर्दै आइरहेको छ। त्यही देशमा नेपालीहरू घरेलु तथा कृषि कामका लागि उत्साहका साथ जाने गरेका छन्। यहीँनिर हामीलाई उदेक लाग्छ–प्राकृतिक रूपमा यति भरिपूर्ण देश नेपाल साँच्चै गरिब छ या गरिब बनाइएको छ?
कठिन शारीरिक श्रमका लागि विभिन्न देशमा नेपालीहरू गइरहँदा नेपाली श्रम बजारमा श्रमप्रतिको सम्मान हराउँदै गएको मात्रै छैन, विदेशमा नेपालीले गर्ने गरेभन्दा निक्कै सहज कामको निमित्त भारतस्थित नेपालका सीमावर्ती क्षेत्रहरूबाट श्रमिकहरू नेपाल भित्रिने र मनग्य पैसा कमाएर लैजाने क्रम बढ्दो छ। राजनीतिक नेतृत्व र व्यवस्थापनको समस्या एकातिर छ नै, तर यसैलाई दोष दिएर श्रमप्रतिको सम्मान घट्दै जानु वा श्रमको संस्कार विकास नगर्ने हो भने हामी गरिबीबाट माथि उठ्न सक्ने छैनौँ।
हामी गरिबीमा भासिनुको अर्को कारण हामीले अनुसरण गर्न थालेको तडकभडकपूर्ण जीवनशैली र अनुत्पादक लगानी हो। सिंगै जिन्दगीभर आर्जन गरेको आम्दानी एउटा घर र गाडीमा खर्च गर्दा पुन: आम्दानी गर्ने बाटाहरू बन्द हुँदै गएका छन्। राजधानीमा मात्रै होइन, राजधानीबाहिर समेत खेतीयोग्य जमिन कंक्रिटले भरिँदै गएका छन्। प्रविधिको दुरुपयोग, समाजसँगको कम घुलमिल र देखासिकीले हामीलाई आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमै गरिब बनाउँदै लगेको छ।
देशभित्र न्यूनतम जीवन निर्वाहको निमित्त कठिन संघर्ष गरिरहेका वर्ग छन्। शिक्षा–स्वास्थ्यजस्तो आधारभूत सेवासुविधाबाट वञ्चित वर्ग र समुदाय छन्। तर यो आर्थिक समस्याभन्दा ज्यादा वितरणको र व्यवस्थापनको समस्या हो। किन पनि त्यसो हो भने उदारीकरणपछि सीमित घरानियाँहरू झनै विलासी जीवन जिइरहेका छन्। यही भूमिबाट आफ्नो व्यवसाय सुरु गरेका व्यवसायी विश्वकै धनीको सूचिमा अटाइरहेका छन्?
हामी गरिब छैनौँ भन्ने साहस गर्न जो कोहीलाई गाह्रो हुन्छ। यति धेरै आँकडा र तथ्यांकले नेपाललाई गरिब मुलुकको दर्ज गर्दागर्दै हामी गरिब छैनौँ भन्ने तर्क व्यावहारिक हुँदैन। आम सर्वसाधारणको निक्कै कठिन जीवन तथा देश छोडेर अवसरको खोजीमा परदेसिने बढ्दो प्रवृत्तिले देश गरिब छ भन्ने युक्तिलाई सरसर्ती प्रमाणित गर्छ। तर देश गरिब छ कि छैन भन्नेमा भन्दा देश किन गरिब भयो भन्ने दिशामा बहस केन्द्रित हुनुपर्छ।
हामीसँग के छ भन्नुभन्दा हामीसँग के छैन र भनेर सोध्दा त्यसको जवाफ सजिलो हुनसक्छ। प्राकृतिक रूपमा यति धेरै स्रोतसाधनले भरिपूर्ण नेपालमा कमी छ त केवल इमानदारी र लगनशीलताको। तर इमानदारीको खडेरी राजनीतिक नेतृत्वमा मात्रै छैन, हरेक जसो व्यक्तिमा छ। ऐन, नियम र कानूनको परिधिमा आजका नागरिक बाँधिन चाहँदैनन्। ऐननियम मिच्नुलाई बहादुरी सम्झिने प्रवृत्ति बढेझैँ देखिन्छ। नियम पालना गर्न–गराउन जोडबल गर्नुपर्नेमा जो कोही नियम मिच्न खोज्छन्। अवस्था यस्तो छ कि भ्रष्टाचार र अनियमिततामा चोखो र निस्कलंक सार्वजनिक 'फिगर' भेट्टाउनै कठिन भइसक्यो।
कसैलाई दोष दिनुअघि नागरिक जिम्मेवारी पूरा गरियो कि गरिएन? देश र समाजप्रतिको जिम्मेवारीबोध गरियो या गरिएन? सरकारी र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरियो कि गरिएन? आफूलाई प्राप्त अधिकारको गलत प्रयोग पो गरियो कि? इमानदारीसाथ यस्ता प्रश्नको उत्तर हर कसैले दिन सक्नुपर्छ।
कुनै राजनीतिक दलको घोषणापत्रमा लेखिएझैँ रातारात चमत्कार हुने विषय होइन विकास र समृद्धि। चाहे जापान हुन् या दक्षिण कोरिया, कुनै पनि देशले जनताको प्रत्यक्ष सहभागिता र अथक परिश्रमबेगर आजको सफलता हासिल गरेका होइनन्। पहिले नै प्राप्त ऐतिहासिक र राजनीतिक लाभका अलावा, ती देशको समग्र विकास निर्माण र समृद्धिका लागि शासनसत्ता सम्हाल्ने नेतृत्वको 'भिजन' र इमानदारी प्रधान हो। तर त्यस्तो नेतृत्व जन्माउने, हुर्काउने र प्रश्रय दिने वर्ग पनि उत्तिकै इमानदार र परिश्रमी हुन जरुरी छ। राजनीतिक नेतृत्व पनि यही समाजकै उत्पादन भएका कारण समाजको संस्कृति, व्यवहार र स्वभाव तिनमा प्रतिविम्बित हुने हुन्।
गरिबीका कारण थुप्रै होलान् तर सर्वसाधारण र विशेषगरी युवापुस्ताले त्यसको दोष सिधै राजनीतिक नेतृत्वलाई लगाउँछ। तितो सत्य के पनि हो भने, दल र तिनका नेतृत्वलाई मात्रै दोषारोपण गरेर बाँकी चोखिने स्थिति छैन। नेतृत्व गलत हो भने त्यो नेतृत्व जन्माउने र मलजल गरिरहने सम्पूर्ण सरोकारवाला पनि गलत हुन् र छन्। विधि र पद्धतिलाई मान्नुको सट्टा विधि मिचेर गलत फाइदा लिने र लिन खोज्ने सबै गलत हुन्। अतः देश गरिब हुनुमा नेता र कर्मचारी मात्रै दोषी हुन् भन्ने तर्क सुन्दा ठीकै लागे पनि त्यस्तो पक्कै होइन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
