फ्रान्सले रोकेका भारतीय नागरिकसँग सोधपुछ हुँदै

फ्रान्सले बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको एयरबस ए३४०मा यात्रा गरिरहेका भारतीय नागरिकलाई रोकेर पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखेको छ।

तस्वीर : एपी

मानव तस्करीको आशंकामा पेरिसनजिकै हिरासतमा राखिएका भारतीय नागरिकसँग फ्रान्सका सरकारी अधिकारीले सोधपुछ थालेका छन्। फ्रान्सले नियन्त्रणमा लिएका तीन सयभन्दा बढी भारतीय नागरिकसँग चार फ्रान्सेली न्यायाधीशले आइतबारबाट सोधपुछ थालेका हुन्।

फ्रान्सले बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको एयरबस ए३४०मा यात्रा गरिरहेका भारतीय नागरिकलाई रोकेर पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखेको छ।

विमान निकारागुवा जाँदै थियो। मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि उनीहरूलाई फ्रान्सका सरकारी अधिकारीले रोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरूलाई सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेश दिइएको छ। उनीहरूलाई हिरासतमा राख्ने समय शुरूमा आठ र आवश्यकअनुसार थप आठ दिन बढाउने अधिकार न्यायाधीशहरूलाई छ।

यद्यपि, यात्रीहरूसँग कुराकानी गर्नका लागि न्यायाधीशहरूसँग दुई दिनको समय छ। “हाम्रो लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो,” चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भने। न्यायाधीशहरूलाई अनुवादकहरूले सहयोग गरिरहेका छन्।

पेरिसका अभियोजकहरूका अनुसार रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका ३०३ यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग छन्। यो घटनाहरूसँग सम्बन्धित एक स्रोतका अनुसार १० यात्रीले शरणका लागि अनुरोध गरेका छन्।

अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा चालक दलका सदस्यको पहिचान गरेका छन्। उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ पनि प्रमाणित गर्ने प्रयास गरिरहेका छन्।

निकारागुवा हुँदै अमेरिका वा क्यानडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स (यूएई)का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ।

यता पेरिसस्थित भारतीय दूतावासले ‘स्थितिको द्रुत समाधान’का लागि काम गरिरहेको बताएको छ।