ओल्भरह्याम्टनसँग चेल्सी पराजित

आइतबार राति घरेलु मैदानमा ओल्भरह्याम्टन (वल्भ्स)ले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पछिल्लो हारले चेल्सी २२ अंकसहित तालिकाको १० औँ स्थानमा छ।

इंग्लिस प्रिमियर लिगमा चेल्सीले अर्को हार बेहोरेको छ। आइतबार राति घरेलु मैदानमा ओल्भरह्याम्टन (वल्भ्स)ले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१औँ मिनेटमा वल्भ्सका पाब्लो साराबियाको पासमा मारियो लेमिनाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा अर्को गोल गर्दै दोहोरो अंक बनाउन सफल रह्यो।

चेल्सीले इन्जुरी समयको छैटौँ मिनेटमा एक गोल त फर्कायो, तर जित्न सकेन। चेल्सीका लागि रहिम स्ट्रलिङको पासमा एन्कुनले गोल गरेका थिए।

सन् २००० पछि चेल्सी लगातार चार खेलमा हारेको पहिलो पटक हो। पछिल्लो हारले चेल्सी २२ अंकसहित तालिकाको १० औँ स्थानमा छ। चेल्सीसँग अंक बराबरी गरेको वल्भ्स भने १४औँ स्थानबाट गोल अन्तरका आधारमा ११ औँ स्थानमा उक्लिएको छ। आर्सनल शीर्ष स्थानमा छ भने लिभरपुल र स्टनभिला क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।