क्रिस्चियन धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ मनाइँदै

‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।

एआईको सहयोगमा तयार पारिएको तस्वीर

काठमाडौँ– नेपालसहित विश्वभरका क्रिस्चियन धर्मावलम्बीहरूले सोमबार ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। 

अंग्रेजी पात्रोअनुसार हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिस्चियन धर्मालम्बीले यो दिन क्रिसमस मनाउन लागेका हुन्। ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। 

‘ख्रिष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रिष्टको सम्झना गरिँदैछ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन् गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ।