बसको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। 

काठमाडाैँ– रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले बीपी राजमार्गमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। 

रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई सोमबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै कारबाहीको माग गरेका छन्। राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको बोहोरेटारमा लर्को लागेको छ। 

खोटाङ जिल्ला तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए। मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।