पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जति जति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ।
म्याग्दी– म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँच वटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन्। कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन्।
स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्सरे सेवा उपलब्ध छ। गाउँ नजिकै विद्यालय छन्। सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन्।
ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्यून हुँदै गएको छ। स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन्। पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जति जति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ।
गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्त्व दिन थालेपछि कृषि उत्पादन पनि बढ्दै गएको छ। ६ वटै स्थानीय तहममा कृषि उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
एक/डेढ दशक अघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता रहेकामा अहिले विकासको पूर्वाधार बढे पनि सुविधाको उपयोग गर्ने जनता भने घट्दै गएका मालिका गाउँपालिका– २ का वडा सदस्य भक्तबहादुर पुन बताउँछन्।
गत वर्ष साउनदेखि चैत मसान्तसम्म जिल्लाका एक हजार ९१ घर परिवार अन्य ठाउँमा बसाइ सरेको स्थानीय तहहरूको तथ्यांकले देखाएको छ। एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायत ठाउँमा गएका हुन्।
स्थानीय तहको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट २४२, रघुगंगा गाउँपालिकाबाट ११४, मंगला गाउँपालिकाबाट १६०, मालिका गाउँपालिकाबाट १२४, धौलागिरि गाउँपालिकाबाट ३०४ र अन्नपूर्ण गाउँपालिकाबाट १४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरेका थिए।
“गाउँमा जति जति विकासका पूर्वाधार तपिँदै गए त्यति त्यति बस्ती खाली हुँदै जान थाले, यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण हुन जरुरी छ,” दरबाङका बालकृष्ण शर्मा भन्छन्, “गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन्। विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन्।”
सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ स्थित बगरफाँट गाउँको स्थिति यस्तै छ। राजनीति गर्ने नेताहरूदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसको पुर्ख्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिँदै जान थालेको छ।
यहाँका अधिकांश युवा विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवा पनि विदेश जाने तयारीमा छन्। अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुकसम्म यहाँका युवाको गन्तव्य हुने गरेको छ। गाउँ सुन्दर छ। सुगम छ। विकासका सबै पूर्वाधार यहाँ उपलब्ध छन्। गाउँको सिरानमा जंगल, पुछारमा म्याग्दी नदी र बीचमा समथर उर्बर फाँट छ।
विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ। गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ। थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरू जमिन बाँझै छोडिएको छ।
गाउँमा जति जति विदेशी आम्दानी भित्रिँदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ। यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँको यही अवस्था रहेको छ।
बगरफाँटका बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाझिँदै गएकामा चिन्तित छन्।
पशुपालन घट्दै गएको छ। व्यावसायिक रूपमा केही युवाले गरेको कृषि पेसा रहरलाग्दो देखिए पनि उत्पादित कृषिउपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यावसायिक कृषकहरूले बताउन थालेका छन्। वार्षिक करोडौँ रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागतअनुसारको मूल्य नपाउँदा कृषक निराश भएका अगुवा कृषक चन्द्रबहादुर कार्की बताउँछन्।
“बारीभरि बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ तर यहाँको प्रांगारिक उत्पादनलाई व्यापारीले सस्तोमा खोज्छन्”, उनको गुनासो छ।
बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुखसुविधा र जीवनशैली नै भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको भनाइ छ। नेपाल कांग्रेसका जिल्ला सचिवसमेत रहेका मीनबहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा छ तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँमा जाने क्रम नरोकिएको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
