एपीएफले सोमबारको खेलमा कोशी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।
काठमाडौँ– एपीएफले सोमबार कोशी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ। एपीएफले मूलपानीमा कोशीमाथि जित निकाल्दै आफ्नो अपराजित यात्रा चार खेलसम्म पुर्याएको हो।
पहिलोपटक राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा कोशीको भने चौथो खेलमा अपराजित यात्रा रोकिएको छ। कोशीले दिएको ८५ रनको सामान्य लक्ष्य एपीएफले मात्र दुई विकेट गुमाएर १७.३ ओभरमा पूरा गर्यो।
यससँगै एपीएफका चार खेलबाट चार जितसहित ८ अंकसहित शीर्ष स्थानमा यथावत् छ। एपीएफको जितमा इन्दु बर्माले सर्वाधिक ३६ रनको अविजित इनिङ्स खेलिन्। उनले ३४ बलमा समान दुई चौका र छक्का हिर्काइन्। रोमा थापा १० रनमा अविजित रहिन्।
कप्तान सीता रानामगरले १८ रन र ज्योति पाण्डेले २४ रनको योगदान दिइन्। कोशीका बलरले कसिलो बलिङ गर्ने प्रयास गरे पनि जित निकाल्न सकेनन्। कोशीकी बलर सबनम राईले चार ओभरमा दुई मेडनसहित ९ रन मात्र खर्चे पनि विकेटविहीन रहिन्। निशा साह र एलिसा खडियाले समान एक विकेट निकाले।
त्यसअघि कोशीले २० ओभरमा दुई विकेट मात्र गुमाए पनि सुस्त ब्याटिङ गर्यो। कप्तान रुविना क्षेत्रीले ५८ बलमा ६ चौकासहित ४१ रन जोडिन्। काजोल श्रेष्ठले ४६ बलमा २५ रन र अप्सरी बेगमले १५ बलमा १३ रन जोडे।
सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ६ विकेटको जित निकाल्यो। चार खेलबाट सुदूरपश्चिमको यो तेस्रो जित हो। सुदूरपश्चिमले पनि एपीएफसँग हार बेहोरेको थियो। बागमतीले दिएको ८८ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र चार विकेटको क्षतिमा १९औँ ओभरमा पूरा गर्यो।
विन्दु रावलले २८ रन र कविता जोशीले अविजित २७ रनको इनिङ्स खेल्दै जित दिलाए। बागमतीका अस्मिना कर्माचार्य र सोनी पाख्रिनले समान एक विकेट लिँदा सुदूरपश्चिमले दुई विकेट रनआउटका रूपमा गुमाउन पुग्यो।
त्यसअघि बागमतीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ८७ रनको योगफल बनायो। कन्चन श्रेष्ठले सर्वाधिक १९ रन जोड्दा हेलिशा गुरुङ १६ रन र सोनीले १३ रनको योगदान दिइन्।
त्यसअघिको अर्को खेलमा मधेशले गण्डकी र लुम्बिनीले कर्णाली प्रदेशलाई हराए। पूजा महतोको अलराउन्डर प्रदर्शनमा मधेशले गण्डकीलाई २७ रनले स्तब्ध बनाउँदै चार खेलबाट दुई अंक जोड्यो। तेस्रो हार बेहोरेको गण्डकीको पनि समान खेलबाट दुई अंक नै छ।
मूलपानी क्रिकेट मैदानमा ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटियो। गण्डकीका लागि सुमन खतिवडाले ४२ र सृष्टि जैसीले १५ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मधेशका लागि पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कप्तान कविता गौलमा र साक्षी यादवले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो।
पूजाले ३८, सरस्वतीकुमारी चौधरीले अविजित २६ र प्रतिमा शाहले १० रन बनाए । गण्डकीका लागि सुमन खतिवडाले तीन तथा कुशुम गोदार र सृष्टि जैसीले समान एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले कर्णालीमाथि ३० रनको जितसँगै चार खेलबाट चार अंक जोड्यो। कर्णाली भने चार खेलमा अंकविहीन छ। लुम्बिनीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि गौरी बोहराले २२, यमुना थारुले २१, अञ्जु गुरुङले अविजित १३ र रश्मि खड्काले अविजित ११ रन बनाए ।लुम्बिनीका लागि सरस्वती पुन र कृतिका मरासिनीले समान दुई तथा चमेली चौधरी र शर्मिला रोक्काले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनायो। लुम्बिनीका कप्तान सरस्वती घर्तीमगरले ६२ बलमा सात चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरिन्। आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन बनाए। कर्णालीका लागि यमुना थारु, रश्मि खड्का र तिर्सना विश्वकर्माले समान एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
